गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज अन्तिम सुनुवाइ

अमेरिकी राहदानीमा नेपाल आएको १६ दिनमा नेपाली राहदानी


११ माघ २०७९, बुधबार
rabi lamichhane2022 12 26 05 55 44

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ ।

लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने नपर्ने विषयमा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।

पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो । अमेरिका बस्दा त्यहाँको नागरिकता लिएका लामिछानेले नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि अमेरिकी नागरिकता त्यागेका थिए । अमेरिकी नागरिकता त्यागेपछि फेरि नेपाली नागरिकता कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नागरिकता कायम गराउन निवेदन नदिएकाले उनको पुरानो नागरिकता प्रमाणपत्र बैध नहुने दाबी रिट निवेदकको छ । गृहमन्त्री लामिछानेले भने आफूले नेपाली नागरिकता परित्याग नगरेकाले स्वतः कायम हुने दाबी गदै आएका छन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले एकै पटक अमेरिकी र नेपाली दुवै नागरिकका हैसियतमा नेपालमा बसेको पुष्टि भएको छ । अमेरिकी पासपोर्ट बोकेर सन् २०१५ मा नेपाल आएको १६ औं दिनमा उनले नेपालको पनि पासपोर्ट लिएका थिए । तर अमेरिकी पासपोर्ट भने उनले सन् २०१८ मा मात्र त्यागेका हुन् ।

५१२९६६९८१ नम्बरको अमेरिकी पासपोर्टमा गैरपर्यटक (नाता) भिसा लगाएर उनी ११ मे २०१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । २७ मे २०१५ मा उनले ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएका थिए । यो पासपोर्ट लिन उनले २०५० फागुन १० मा जारी भएको १८२२२ नम्बरको नेपाली नागरिकता बुझाएका थिए । जबकि उनको समेत भनाइमा अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता कायम थिएन ।

पर्यटक भिसामा काम गर्ने अनुमतिलगायतका विषयमा विवाद भएसँगै लामिछानेले सन् २०१८ मा अमेरिकाको नागरिकता र पासपोर्ट त्यागको प्रक्रिया थालेका थिए । उनले २०७५ जेठ ५ मा नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिई नागरिकता त्याग्न लाग्ने दस्तुर बुझाएर प्रक्रिया अगाडि बढाएका थिए । उनले अमेरिकी नागरिकता परित्याग र पासपोर्ट ‘सरेन्डर’ गरेको स्वीकृतिपत्र २०७५ असार १४ मा प्राप्त गरेका थिए । उनले सन् २०१५ मै लिएको नेपालको पासपोर्ट प्रयोगमा ल्याएका थिए । सन् २०१८ सेप्टेम्बर २० मा जापान र कोरिया भ्रमण जाने क्रममा उनले उक्त पासपोर्ट प्रयोग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७