बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ


११ माघ २०७९, बुधबार
tulsipur buspark 1674612745

दाङ । पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो ।

३४ करोडको लागतमा बसपार्क निर्माण गर्न गुरुयोजना तयार भएको थियो । तुलसीपुर उपमहानगरपालिकासँग पर्याप्त बजेट भएन । त्यसैले बिभिन्न चरणमा काम गर्ने गरी निर्माण थालिएको थियो । पहिलो चरणमा नगर विकास समितिबाट रु १० करोड ५० लाख ऋण लिएर बसपार्क निर्माण अघि बढाइएको थियो । नगर विकास कोषले २०७४ सालमा ९० प्रतिशत ऋण र १० प्रतिशत अनुदानमा बजेट उपलब्ध गराएको थियो ।

‘पहिलो चरणमा एक तलाको टर्मिनल भवन, ५२ व्यापारिक सटर, सार्वजनिक शौचालय तथा सडक र सडकबत्ती निर्माण ग¥यौं’, उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीले भने । उक्त काम २०७६ सालमै सम्पन्न भएको थियो । ‘बजेट अभावले दोस्रो चरणको काम अघि बढ्न सकेको छैन’, उनले भने, ‘बाँकी काम रु २४ करोडमा नभ्याउने अवस्था छ । बजेट जुटाउनुपर्ने देखिन्छ ।’

उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने सम्भावना नभएपछि कार्यपालिकाले नगर विकास समितिसँग ऋण माग गर्ने निर्णय गरेको छ । छैटौँ कार्यपालिका बैठकले दोस्रो चरणको कामका लागि ऋण माग गर्ने निर्णय गरेको हो । टर्मिनल भवनलाई तीन तला बनाउनुपर्ने, सडकबत्ती जडान गर्नुपर्ने, क्लब टावर, कम्पलेक्स निर्माण, ढल निकास, पम्प व्यवस्थापन, पार्किङस्थल व्यवस्थापनलगायतका काम अझै बाँकी छन् । पाँच बिघा क्षेत्रफलमा उक्त बसपार्क निर्माण गरिँदै छ ।

यातायात व्यवसायीले भने संरचना निर्माण संरचना निर्माण गर्न आफूहरूबाट कर उठाएको बताएका छन् । पार्किङ शुल्क पनि बढी लिने गरेको व्यवसायीको गुनासो छ । अझै पेट्रोलपम्प, क्यान्टिन, टर्मिनल भवन, यात्रु प्रतिक्षालय, स्वास्थ्य जाँच, सिसी क्यामेरा, ग्रिनपार्क, शौचालयलगायतको उचित व्यवस्थापन हुन नसकेको उनीहरुको आरोप छ ।

विसं २०५३ अघि हाल उपमहानगरपालिकाको कार्यालयभन्दा दक्षिणतर्फको पार्कमा तुलसीपुर बसपार्क थियो । सो बसपार्क २०५३ फागुनमा पातुखोलाको किनारमा स्थानान्तरण गरिएको थियो । त्यसको २१ वर्षपछि आधुनिक बसपार्क निर्माण सुरु भएको हो । निर्माणको जिम्मा शिवशक्ति कन्स्ट्रक्सनले लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७