जापानमा भारी हिमपात, यातायात अवरुद्ध


११ माघ २०७९, बुधबार
japan snow1674625794

टोकियो । भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन् भने केही स्थगन भएका छन् ।

बाक्लो तुसारोले गर्दा द्रुत रेल सेवाको गति पनि मन्द भएको छ भने केही सेवामा विलम्ब भएको छ । बुलेट रेलसेवाको हालत पनि यस्तै छ । इष्ट जापान रेलवे कम्पनीले तोहोकु– शिङ्कासेन सेवाका साथै यामागाता– शिङ्कानसेन सेवा बुधबार बन्द रहने जनाएको छ ।

तोकाइदो र सान्यो शिङ्कानसेन क्षेत्रका प्रमुख रेलसेवा बन्द भएका छन् । परिस्थितिको विश्लेषण गरेरमात्र सेवा पुनः शुरु गरिने रेल सेवाका अधिकारीले बताएका छन् । हिउँ हटाउन राष्ट्रिय राजमार्ग पनि बन्द गर्नुपर्ने अवस्था आएको यातायात मन्त्रालयले जनाएको छ । चालकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन सञ्चालन नगर्न आदेश दिइएको छ । हिमपातका बेला प्रयोग गरिने टायर प्रयोग गर्न पनि गाडीका चालकलाई मन्त्रालयले आग्रह गरेको छ ।

जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले पनि बुधबारका सयौँ उडान रद्द गर्ने योजना बनाएका छन् । उनीहरूले यात्रीलाई यथाशीघ्र आफ्नो उडान सुनिश्चित भएनभएको यकिन गर्न अनुरोध गरेका छन् । जापानको जल तथा मौसम विज्ञान विभागले देशको तापक्रम अझ घट्ने जनाएको छ । बिहीबार पनि बुधबारको झै मौसम सफा नरहने विभागको अनुमान छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७