प्रधानमन्त्रीको प्रतिवद्धता परीक्षण गर्न विश्वासको मत दियौं : प्रवक्ता महत


१२ माघ २०७९, बिहीबार
Prakashsharan mahat
फाइल फोटो

बाँके। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो तर कांग्रेस सरकारमा जान होइन । सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो ।’

‘संसदमा गुण र दोषका आधारमा हामीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छाैं, सरकारलाई समर्थन गरे पनि हामीहरु सरकारमा जाने भनेको होइन’, नेता महतले भने । नेपाली कांग्रेस नेता डा. महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर्ने भन्नु भएकाले उनको त्यो प्रतिबद्धताको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको बताए ।

संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्याङ्कनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए ।

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको तर कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको पनि स्पष्ट गरे । उनले राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता इच्छुक रहेकाले उपयुक्त समयमा पार्टीले निर्णय गर्ने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७