विदेशी मुद्रा सञ्चिती १२ खर्ब ९२ अर्ब, ८ महिनाको वस्तु तथा सेवा आयात धान्ने


१२ माघ २०७९, बिहीबार
doller euro

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हाल मुलुकमा ९ अर्ब ४२ करोड अमेरिकी डलर बराबर अर्थात १२ खर्ब ९२ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित रहेको छ ।

गत मंसिरसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चितिले ८.७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको वित्तीय प्रतिवेदनअनुसार गत मंसिर महिनासम्मको विदेशी मुद्रा सञ्चितिले वस्तु आयात १० महिनाको धान्न सक्छ भने वस्तु र सेवा दुवैको आयात ८.७ महिनाको धान्न पुग्ने छ ।

बैंकले चालु आर्थिक वर्षमा न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी मुद्रा सञ्चित कायम गर्ने लक्ष्य लिएको थियो । पछिल्लो समय विदेशी रेमिट्यान्स बढेसँगै विदशी मुद्रा सञ्चिति बढेको छ भने आयात घटेको छ । यसरी मुलुकमा रहेको सञ्चित विदेशी मुद्राले धान्ने आयातको अवस्थामा सुधार देखिएको हो ।

असार मसान्तसम्मको तुलनामा मंसिर मसान्तसम्म आउँदा सञ्चिति नेपाली रुपैयाँमा ६.३ प्रतिशतले र अमेरिकी डलरमा भने ३ प्रतिशतले बढेको छ । सरकारले यसअघि विदेशी मुद्रा सञ्चिति घटेपछि गत मंसिर मसान्तसम्मका लागि निजी चार पांग्रे सवारी साधन, तयारी विदेशी मदिरा, १५० सीसी माथिका मोटरसाइकल र ३ सय डलर माथिका स्मार्टफोन आयातमा मंसिर मसान्तसम्म प्रतिबन्ध लगाएको थियो । राष्ट्र बैंकले पनि करिब १६ सय वस्तुको आयातका लागि प्रतितपत्र खोल्दा नगद मार्जिनको व्यवस्था गरेको थियो । अहिले त्यो सबै व्यवस्था खारेज भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ०७९ असारसम्म १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा ०७९ मंसिर मसान्तमा ७.८ प्रतिशतले बढेर ११ खर्ब ३९ अर्ब २२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा ०७९ मंसिर मसान्तमा ३.८ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब ३४ करोड कायम भएको छ । गत मंसिरसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७