अर्थतन्त्रका सूचकहरु चिन्ताजनक छन् : प्रधानमन्त्री


१२ माघ २०७९, बिहीबार
PRO KTMPRACHANDA scaled

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । आज (बिहीबार) काठमाडौँमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताएका हुन् । उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौति रहेको पनि बताएका छन् । प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए ।

उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैंयाको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘अहिले हामी विशिष्ट अवस्थामा छौं । आर्थिक रुपले परिसूचकहरु त्यति राम्रो छैन । चिन्ताजनक छन् । यस्तो बेलामा मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु, जुन मेरो चुनौतिको विषय बनेको छ । सरकारको पहिलो बैठक बस्दा नै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको छु । आगामी दिनमा तपाईहरुको सहकार्यबाट नै अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न ठूलो सहयोग मिल्ने छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो यो कार्यकालमा देशमा सुशासन नेपाली जनताको र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७