ठूलो परिमाणको लागुऔषधसहित जनकपुरबाट चार युवक पक्राउ

जनकपुरधाम । ठूलो परिमाणको लागुऔषधसहित जनकपुरधामबाट चार युवक पक्राउ परेका छन् । प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषध सहित उनीहरु बिहीबार दिउँसो जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा नियन्त्रणमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ छन् ।
यस्तै ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुर उप–महानगरपालिका ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पीडारीचोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागुऔषध ४९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए ।