आइएसका उच्च नेता सुडानीको सोमालियामा मृत्यु भएको अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मृत्यु भएको घोषणा गरेको छ ।
अमेरिकी सेनाले सोमालियामा गत बुधबार गरेको कारबाहीमा सुडानीको मृत्यु भएको अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले घोषणा गरेका हुन् । सुडानीको मृत्यु अमेरिका र उसका सहयात्री देशहरुका लागि सुखद् खबर भएको रक्षामन्त्री अस्टिनको भनाइ छ ।
सुडानीको गतिविधिको लामो अध्ययनपछि राष्ट्रपति जो बाइडेन, रक्षामन्त्री अस्टिन र अमेरिकी सेनाका संयुक्त प्रधान सेनापति मार्क मिलेको अनुमति र निगरानी गरिएको कारबाहीमा सुडानीको मृत्यु भएको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ ।
लामो समयदेखि अमेरिकी सेनाको राडरभित्र रहेका सुडानीले अफ्रिकी देशहरु तथा अफगानिस्तानमा आइएस गतिविधिका लागि महत्वपूर्ण भूमिका खेल्ने गरेको अमेरिककाको दावी छ । अमेरिकी सेनाले कारबाहीका क्रममा सुरुमा सुडानीलाई पक्राउ गर्न खोजेको तर असफल भएपछि मृत्यु भएको जनाइएको छ ।