‘रवि लामिछानेमा कानुन मिच्ने प्रवृत्ति देखिन्छ, पहिल्यै डिपोर्ट गर्नु पर्थ्याे’

लामिछाने नेपाली हुन् तर, उनी नेपाली नागरिकताधारी होइनन्’


१३ माघ २०७९, शुक्रबार
rabi 9hwe4JpFPP

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा कानुन मिच्ने प्रवृत्ति देखिएको जिकिर गरेका छन् । संवैधानिक इजलासमा रविको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जवाफी बहस गर्दै उनले लामिछानेले नेपालको कानुन लत्याउँदै बसेको तर्क गरेका छन् ।

‘कानुन मिच्ने प्रवृत्ति उहाँमा पहिलेदेखि नै थियो । पारिवारिक भिसामा नेपालमा आएर उहाँले काम गर्नुभयो । त्यसमा विवाद भयो । पछि अमेरिकाको नागरिकता त्यागेको डकुमेन्ट निर्वाचन आयोगमा मात्रै पेस गरेको देखिन्छ’, भण्डारीले भने, ‘विदेशमा त्यागेको निस्सा तोकिएको अधिकारीलाई पेस गर्नुपर्नेमा अहिलेसम्म पेस गरेका छैन ।’

रवि पक्षका वकिलले यसअघि यो मुद्दा संवैधानिक इजलासको कार्यक्षेत्रमै पर्दैन भनेर जिकिर गरेकोप्रति जवाफ दिँदै उनले संविधानको धारा ९० अनुसार सांसदको अयोग्यताको प्रश्न संवैधानिक इजलास नै हेर्ने व्यवस्था गरेको स्पष्ट गरे । रविको नागरिकतासम्बन्धी विवादमा नागरिकतासम्बन्धी कानुनको दफा ११ पूर्ण आकर्षित हुने भण्डारीले बताए । उनले रविले नागरिकता पाउनका लागि प्रक्रियामा जानैपर्ने पनि बताएका छन् ।

उनले अहिलेसम्म रविले नागरिकता त्यागेको राज्यलाई थाहा नभएको समेत दावी गरेका छन् । नागरिकतासम्बन्धी संशोधन ऐनले नागरिकता पुनः पाउन निस्सा दर्ता गरेर मात्रै निर्णय हुने व्यवस्था गरेको पनि उनले बताए । ‘मलाई कानुन लाग्दैन, प्रक्रिया लाग्दैन भन्नु ठीक होइन’, उनले भने, ‘सिडिओ कार्यालयमा गएर नागरिकताको विषयमा सहीछाप गर्नुपर्छ । तर, उहाँ राज्यलाई अण्डर माइण्ड गर्नुहुन्छ ।’ वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले अवैध रुपमा नेपालमा बसेका रविलाई पहिले नै राज्यले डिपोर्ट नगरेर गल्ती गरेको बताएका छन् ।

‘रवि नेपाली नागरिकताधारी होइन भनेर राज्यले उतिबेलै डिपोर्ट गर्नुपर्थ्याे तर नेपाली भनेर स्वीकार्‍यो’, उनले भने, ‘उनीसँग नेपाली नागरिकता छैन । नेपाली हुन् तर उनी नेपाली नागरिकताधारी होइनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७