आफ्नै ट्याङ्कर चलाउन पाउनु पर्ने चालकहरुको माग


१३ माघ २०७९, शुक्रबार
chalak

काठमाडौँ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले चालकहरुले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनु पर्ने माग राखेको छ । आज (शुक्रबार) काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने बताएका हुन् ।

उनले सधैँ परनिर्भर हुनुभन्दा आफूहरुको भविष्यको लागि आत्मनिर्भर हनुपर्ने भएकाले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने आफूहरुको माग गरेको जानकारी गराए । उनले देशभर १,९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरु रहेको उल्लेख गर्दै उनीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष लामाले एक पटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे । उनले आफूहरुको माग सुनुवाई नभएमा ३० दिनभित्र ट्याङ्करको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।

petrol tanker

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्याङ्कर चालकहरुको माग सम्बोधन गर्नका लागि विद्यमान ऐन, कानूनहरुमा संशोधन गर्न आवश्यक रहेको बताए । उनले विनियमावलीमा भएका केही व्यवस्थाहरु समेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरुले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नं. १० बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद राजन केसीले ट्याङ्कर चालकहरुको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताए ।

कार्यक्रमका बीच नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ र बिहार ट्याङ्कर चालक उपचालक संघका बीचमा आपसी सहयोग आदान–प्रदान गर्नेगरी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा नेपालको तर्फबाट अध्यक्ष ईश्वर लामा र बिहारको तर्फबाठ अध्यक्ष चन्द्रप्रकाश सिंहले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७