विमान दुर्घटनास्थलमा श्रद्धाञ्जली सभा


१३ माघ २०७९, शुक्रबार
khagaraj adhikari 2

पोखरा । यही माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ ।

पोखरा महानगरपालिकाले घटनाको १३औं दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुलनजिक ठीक १०ः५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो । सो अवसरमा घटनामा निधन भएका सबै यात्रुको स्मृतिमा दीप प्रज्वलन समेत गरियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताए ।

KrishnaDawadi Kaski RSS 13 1

दुर्घटनाका आला घाउहरु पुर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ छ । उनले दुर्घटनापछि जोखिम मोलेर उद्धारमा महत्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताए ।

माघे सङ्क्रान्तिको बिहान काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटीआर विमान बिहान १०ः५८ बजे पोखरा वडा नं ७ र १५ को सिमास्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो । घटनामा विमानमा सवार ७२ जनामध्ये ७१ जनाको निधन भइसकेको छ भने एक जनाको खोजी जारी छ । दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७