जयवागेश्वरीमा काठमाडौँ महानगरपालिका–८ को भवन बन्ने


१३ माघ २०७९, शुक्रबार
kathmandu

काठमाडौं । काठमाडौँ महानगरपालिका–८ को भवन जयवागेश्वरीमा बन्ने भएको छ । महानगरपालिकाको रु तीन करोड लागतमा भवन निर्माण गर्न लागिएको हो ।

भवनको महानगरपालिकाका प्रमुख बालेन शाह, कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले शिलान्यास गर्नुभएको छ । पशुपति क्षेत्र विस्तारका क्रममा करिब २५ वर्षअघि वडा भवन भत्काइएको थियो । वडा भवन भत्काइएपछि हाल पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय सञ्चालन भइरहेको छ ।

नयाँ भवन त्यससँगैको नेपाल वेद विद्याश्रमको नामका रहेको जग्गामा बनाउन लागिएको हो । तीन वर्षअघि तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले पनि भवन शिलान्यास गरेका थिए । वेद विद्याश्रमले विरोध गरेपछि काम रोकिएको हो । यस पटक भने कोषले निर्माण गर्न पत्र नै दिएपछि शिलान्यास गरिएको हो । वेद विद्याश्रम कोषअन्तर्गत सञ्चालनमा रहेको छ ।

कार्यक्रममा महानगर प्रमुख शाहले कोषले वडा भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकामा धन्यवाद दिए । उनले तोकिएकै समयमा भवन निर्माण हुने र नयाँ भवन बनेपछि वडा कार्यालयको सेवा प्रवाह सही हुने विश्वास व्यक्त गरे ।
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र रहेको पवित्र तीर्थस्थल भएकाले पनि यो महत्वपूर्ण स्थान भएको उनको भनाइ थियो । सम्पदा क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्दै नेपालकै गौरवशाली पवित्र तीर्थस्थलका रूपमा विकास गर्न महानगरले काम गर्ने महानगर प्रमुख शाहको प्रतिबद्धता थियो । कोष र महानगरपालिका सँगसँगै मिलेर अगाडि बढ्नु पर्नेमा समेत उनले जोड दिएका थिए ।

कार्यक्रममा वडाध्यक्ष सङ्गतले लामो समयको प्रयासपछि वडा नं ८ ले भवन बनाउन जग्गा पाएकामा खुसी व्यक्त गरे । नक्साअनुसार सांस्कृतिक, मौलिकताले भरिएको भवन बन्ने उनले बताए । पशुपति क्षेत्रको इँटापाखामा स्वर्ण गणेश, गायत्री मार्गमा ब्रह्मा मन्दिर र जयवागेश्वरीमा महामृत्युञ्जय मन्दिर पुनर्निर्माणको शिलान्यास समेत गरिएको वडाध्यक्ष सङ्गतले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७