आइसीयुमा आचार्यलाई भेटेकोबारे तोसिमाको तर्क : प्रोटोकल भन्दा माथि मानवीयता हुन्छ

‘डा. केसीले सडकबाट उठाउँदै आएका माग सदनमा उठाउँछु’


१३ माघ २०७९, शुक्रबार
Toshima

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने तयारी भएको बताएकी छन् । आज काठमाडौंमा डआयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले स्वास्थ्य वित्त रणनीति अन्तर्गत बजेट बढाउने प्रस्ताव पेस गर्न लागिएको जानकारी दिइन् ।

स्वास्थ्य क्षेत्रमा ठूलो लगानी आवश्यक भएको भन्दै बजेट बढाउने प्रयास भइरहेको उनको भनाइ छ । ‘स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट अपुग छ, स्वास्थ्य वित्त रणनीति कार्यान्वयनका लागि थप बजेट आवश्यक भएकाले मन्त्रिपरिषदमै बजेट बढाउने प्रस्ताव पेस गर्न लागेका छौँ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पाँच दशमलव सात पाँच प्रतिशत बजेट मात्रै बिनियोजन भएको भन्दै उनले उक्त बजेट पर्याप्त नभएको बताइन् । न्यूनतम सेवा मापदण्डअनुसार देशभरका आधारभुत स्वास्थ्य केन्द्रदेखि विशिष्टकृत स्वास्थ्य संस्थाको अनुगमन तीव्र पारिने उनको भनाइ छ ।

उनले मुलुकभरको आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइएको जानकारी दिइन् । जसअन्तर्गत सरकारी, निजी, सामुदायिक तथा गैरसरकारी सङ्घसस्थाले सञ्चालन गरिरहेका मुलुकभरका सम्पूर्ण एम्बुलेन्सलाई ‘सेन्ट्रल पुल’ मार्फत् एम्बुलेन्स सेवा दिने तयारी भइरहेको उनले बताइन् ।

‘एकीकृत एम्बुलेन्स कार्ययोजना अनुसार कुनै पनि ठाँउमा एम्बुलेन्स आवश्यक परे हटलाइन नम्बरमार्फत् सम्पर्क गर्ने बित्तिकै सेवा उपलब्ध हुने गरी काम गर्दैछौं’, उनले भनिन् । राज्यमन्त्री कार्कीले आफूले पदवहाली गरेको १० दिनमै स्वास्थ्य क्षेत्रका कार्ययोजना बनाउन लागेको बताइन् ।

उनले डा. गोविन्द केसीले राख्दै आएको स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका मागप्रति आफू प्रतिबद्ध रहेको समेत बताइन् । आईसीयू प्रोटोकल उलङ्घन गरेको भन्दै पछिल्लो दुई दिनयता स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीको आलोचना भइरहेको छ । संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाहको प्रयास गरी कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएका प्रेमप्रसाद आचार्यलाई भेट्न जाँदा उनले आईसीयू प्रोटोकल उलङ्घन गरेको आरोप लागेको छ ।

आरोपको खण्डन गर्दै राज्यमन्त्री कार्कीले आफूले मानवताको प्रोटोकल पालना गरेको बताएकी छन् । ‘अरू सबै विषयमा मैले सामाजिक सञ्जालमार्फत स्पष्ट पारिसकेकी छु । मलाई लाग्छ अरू सबै मेडिकल प्रोटोकलभन्दा माथि मानवताको प्रोटोकल हुन्छ, मैले त्यही पालना गरेकी हुँ’, उनले भनिन् ।

मन्त्री कार्कीले आफू आचार्यलाई घेट्न पुगेको बेला आईसीयू कक्षमा भिडियो खिचिएको र भिडभाड गरिएकोबारे आफू जानकार नभएको बताइन् । ‘मसँग मेरो स्वकीय सचिव र पीएसओ हुनुहुन्थ्यो । हामीले कुनै मिडियालाई बोलाएका थिएनौँ, भिडियो कसले खिच्यो र सार्वजनिक गर्‍यो यसबारे म जानकार छैन । आगामी दिनमा पनि संवेदनशील कक्षहरूमा बिना अनुमति फोटो भिडियो कसैले नलिई दिनुहोला’, उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७