जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छ : उपाध्यक्ष नेम्बाङ


१४ माघ २०७९, शनिबार
subash nemahang
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताएका छन् ।

एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ मा उनले संविधानमा जुनुसुकै कुराको जवाफ रहेकाले मुलुकका समस्या समाधान गरिने बताए । उनले देश अप्ठ्यारो, कमीकमजोरीमा परेको बेला राजनीतिक दलका नेताहरूले अहिलेको ठाउँसम्म ल्याइ पुर्‍याएको उल्लेख गर्दै दलका नेताहरूले देशलाई सकारात्मक दिशातिर पुर्‍याउने धारणा राखे ।

उनले छिमेकी मुलुक भारतमा संविधान स्वीकार्य गर्न १० वर्ष लागेको उल्लेख गर्दै तर नेपालमा छ वर्षमा नै संविधान कार्यान्वयन गरिएको बताए । उनले जनताले निर्माण गरेको संविधान विगतको जस्तो आठ-दश वर्षमा भत्कने अवस्था नरहेको बताए ।
‘जनताले जनताका निम्ति बनाएको संविधान हो’, उनले भने, ‘यो संविधान कुनै राणा शासन, राजाले नभई जनताले आफै बनाएको हुनाले आठ-दश वर्षमा भत्कने अवस्थाको खतरा छैन ।’ उनले सहिद सम्मानमा राजनीतिक दलबीच समझदारी गरी निर्माण गरिएको संविधानको कार्यान्वयन गर्दै जाने र आवश्यकताअनुसार परिवर्तन र परिमार्जन गर्दै जानुको विकल्प नभएको बताए ।

अर्का उपाध्यक्ष युवराज ज्ञवालीले सहिदको बलिदानले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताए । उनले राजनीतिक क्रान्ति सम्पन्न भए पनि आर्थिक, सामाजिक क्रान्ति बाँकी रहेको उल्लेख गरे । महासचिव शङ्कर पोखरेलले राजनीतिक दुष्चक्र फेरि पनि कायम गर्न खोजिएको आशङ्का गरे । ‘मुलुकमा फेरि पनि राजनीतिक अस्थिरताका खेल भइरहेका छन्’, उनले भने, ‘त्यसप्रति एमाले गम्भीर रहेको छ । एमाले अस्थिरताको खेललाई समाधान गर्न दृढ रहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७