आज कुष्ठरोगविरुद्धको दिवस : अझै १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी


१५ माघ २०७९, आईतवार
kustha rog

काठमाडौँ । आज (आइतबार) ७० औं विश्व कुष्ठरोगविरुद्धको दिवस । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

नेपालमा २०६६ सालमा राष्ट्रियस्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि अहिले बर्षेनी २ हजार ५ सयको संख्यामा नयाँ बिरामीहरु थपिने गरेको तथ्याङ्क छ । अझै नेपालका १६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन नै बाँकी रहेको छ ।

झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेका छन् । कुष्ठरोग सरुवा रोग हो । तर समयमै उपचार गरे पूर्ण रुपमा निको हुन्छ । डाक्टरका अनुसार उपचार गरेका बिरामीबाट यो रोग अर्कोमा सर्दैन ।

स्वास्थ्य सेवा विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख विशेषज्ञ डा. प्रशन्न नापितका अनुसार विगतमा ११ जिल्लामा कुष्ठरोगका बिरामी रहेकोमा चालु आर्थिक वर्षमा १६ जिल्लामा बिरामी भेटिएका छन् । विशेष गरी तराईका जिल्लामा कुष्ठरोगका बिरामी धेरै देखिएका छन् ।

बाक्लो बस्ती र भारतसँग खुला सीमा भएको क्षेत्रमा बढी मात्रामा बिरामी भेटिएका उनले जानकारी दिए । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् ।

सरकारले कुष्ठरोग निवारणका लागि ‘शून्य कुष्ठरोग’ नीतिसहित ५ वर्षे कार्ययोजना बनाएर काम गर्दै आएको छ । दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले शुभकामना व्यक्त गरेका छन् । उनीहरुले आ–आफ्नो क्षेत्रबाट कुष्ठरोग निवारणका लागि जनचेतना जगाउन र समुदायमा रहेका कुष्ठरोगीलाई गरिने भेदभाव हटाउन आग्रह गरेका छन् ।

समुदायमा रोगको सङ्क्रमण हुन नदिन रोगका लक्षण र चिह्न देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको आग्रह छ । यसैबीच ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. सतीश विष्टले कोरोना महामारीपछि ललितपुर जिल्लामा कुष्ठरोगका बिरामी बढेको बताउनुभएको छ ।

७०औँ विश्व कुष्ठरोग दिवसको अवसरमा ललितपुरको गोदावरीमा रहेको आनन्दवन अस्पतालमा भएको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७