अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै


१५ माघ २०७९, आईतवार
victoria nuland 768x370 1

काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज (आइतबार) नेपाल भ्रमणका लागि आउँदै छिन् । नुल्याण्ड नेपालमा आज र भोलि बस्ने जनाइएको छ ।

नेपालमा नयाँ सरकार गठन भए लगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका क्रममा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेण्डामा छलफल गर्ने तयारी छ । नुल्याण्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनको भ्रमण तालिका र कार्यसूचीका विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।

नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतृत्वसँग भेट्ने कार्यक्रम छ । अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत अवलोकन गर्ने जनाइएको छ । यस्तै भोलि (सोमबार) दिउँसो पत्रकार सम्मेलन गरेर उनले आफ्नो भ्रमणबारे जानकारी दिने पनि दूतावासले जनाएको छ । नुल्याण्ड सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त भएकी थिइन् ।

नेपालमा एमसीसी कार्यान्वयन पक्षबारे अमेरिकाको मुख्य चासो र प्राथमिकतामा रहेको छ । झण्डै ६० अर्ब रुपैयाँ बराबरको एमसीसी अनुदान नेपालले अहिलेसम्म प्राप्त गरेको सबैभन्दा ठूलो वैदेशिक सहयोग हो । लामो विवादपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पारित भएको थियो ।

झण्डै साढे तीन दशकको कुटनीतिक अनुभव भएकी नुल्याण्ड अमेरिकाका तीन जना राष्ट्रपति जो बाइडेन, बाराक ओबामा र जर्ज डब्लू बुससँग निकट रहेर काम गरेकी छन् । उपविदेशमन्त्री नुल्याण्डले नेपालसहित भारत, श्रीलङ्का र कतारको भ्रमण गर्नेछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७