म्यानचेस्टर युनाइटेड पाँचौ चरणमा, कासेमिरोले गरे दुई गोल


१५ माघ २०७९, आईतवार
FnltqMPX0AIXIIs1674962280

काठमाडौं । ब्राजिलका मिडफिल्डर कासेमिरोले दुई गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले शनिबार राति दोस्रो श्रेणीको क्लब रिडिङलाई ३–१ ले हराउँदै एफए कपको पाँचौं चरणमा स्थान बनाएको छ ।

घरेलु टोली युनाइटेडले ५४औं मिनेटमा कासेमिरोको गोलबाट अग्रता लिएको थियो । कासेमिरोले एन्टोनीको पासमा गोल गरेका थिए । त्यसको चार मिनेट बित्न नपाउँदै फ्रेडको पासमा कासेमिरोले युनाइटेडको अग्रता दोब्बर बनाए ।

रियाल मड्रिडबाट पाँचपटक च्याम्पियन्स लिगको उपाधि जितेका कासेमिरो गत अगष्टमा युनाइटेडसँग अनुबन्ध भएका थिए । युनाइटेड आएपछि अपेक्षाकृत प्रदर्शन गर्न नसकेको भनेर उनको आलोचना भएको थियो । गए राति उनले त्यसको जवाफ दिन सफल भएका छन् ।

६५औं मिनेटमा एन्डी क्यारोलले दोस्रो पहेंलो कार्डको सामना गरेपछि पाहुना टोली रिडिङ दश खेलाडीमा सिमित भएको थियो । ६६औं मिनेटमा फ्रेडले अर्को गोल थपेपछि युनाइटेडले ३–० को अग्रता लिएको थियो । ७२औं मिनेटमा आमाडोउ सालिफ मोन्गुईले गरेको गोल रिडिङका लागि सान्त्वना बन्यो ।

गए राति मार्कुस राशफोर्ड ओल्ड ट्राफोर्डमा लगातार १० खेलसम्म गोल गर्ने पहिलो युनाइटेडका खेलाडी बन्ने अनुमान गरिदिएको थियो । तर, इङ्ल्यान्डका फरवार्ड गोल गर्न असफल भए । उनले पहिलो हाफमा गोल गरेका थिए । तर, भिडियो सहायक रेफ्रीले त्यसलाई मान्यता दिएन ।

एफए कपमा गएराति नै ह्युङ–मिन सनले दुई गोल गरेपछि टोटनहमले दोस्रो श्रेणी लिगको क्लब प्रेष्टनलाई ३–० ले हराएको छ । सनले ५० र ६९औं मिनेटमा गोल गरेका थिए । टोटनहमबाट अर्को गोल अर्नाउट डानजुमाले ८७औँ मिनेटमा गरेका थिए ।

गएराति अन्य खेलमा लेस्टर सिटीले वालसेललाई १–०, लिड्स युनाइटेडले एकृङटनलाई ३–१ ले, साउथह्याम्पटनले ब्लाकपुललाई २–१ ले, ब्रिष्टल सिटीले वेष्ट ब्रोमलाई ३–० ले हरायो । फुलहमले सन्डरल्यान्डसँग १–१ को बराबरी खेल्यो । बर्नलीले इप्सविचसँग गोलरहित बराबरी खेल्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७