साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाएको रेष्टुराँ


१६ माघ २०७९, सोमबार
hotel

पोखरा । संख्या विज्ञानमा अंक ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अंको चक्र ९९ सकिन्छ र तीन अंको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अं ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ । एकता, प्रतिवद्धता, कार्यसफलतालगायतका भाव र अर्थको संकेत यो अंकले दिन्छ ।

९९ जना महिलाले पर्यटकीय नगरी पोखरामा सञ्चालन गरेको व्यवसाय ‘रोयल दिदीबहिनी किचन’ यस्तै प्रतीकात्मक बिम्ब हो । जसले निकै खराब समयबाट गुज्रिएर आशाको प्रकाश बालेको छ र यो महिला सशक्तिकरणको ज्वलन्त उदाहरण बनेको छ । यहाँ गृहणीदेखि विभिन्न पेशा व्यवसायमा जोडिएका महिला एकताबद्ध भएर केही फरक, चुनौतीपूर्ण र नमूना काम गर्ने प्रयासमा छन् ।

पोखरा महानगरपालिका वडा नम्बर–१० को बुद्ध चोकमा महिलाहरुको सामूहिक प्रयासमा साढे दुई करोड लगानीमा रेस्टुराँ सुरु भएको हो । उनीहरु सबै पोखरा ‘रोयल बचत तथा ऋण सहकारी’मार्फत् एकआपसमा जोडिए । कम्पनी ऐनअनुसार निजी कम्पनी दर्ता गरे र रेस्टुराँ तथा बैङ्क्वेट चलाए ।

महिला सशक्तिकरणका लागि केही फरक गर्नुपर्छ भन्ने लागेरै आफूहरुले रेस्टुराँ शुरु गरेको सञ्चालक रुद्रकुमारी गुरुङ बताउँछिन् । पोखरा रोयल बचत तथा ऋण सहकारीमा अध्यक्ष गुरुङकै नेतृत्वमा महिलाहरु एकजुट भइ दिदीबहिनी किचन स्थापना गरेका हुन् ।

‘सहकारीमा उपाध्यक्ष हुँदा मैले दिदीबहिनी किचनको नेतृत्व गरेको हुँ । विभिन्न अध्ययन अवलोकन र भ्रमणमा आउनेका लागि कार्यक्रम सञ्चालन गर्न र सँगसँगै खाना खान मिल्ने ठाउँको आवश्यकता महशुस भएपछि रेस्टुराँ शुरु गरेका हौं’, गुरुङले भनिन् । महिलाहरु एकताबद्ध भएर भइ सञ्चालन गरेको यो व्यवसाय आफैमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्यहरु अध्ययन तथा अवलोकनका लागि आउने गरेको उनको भनाइ छ ।

रोयल दिदीबहिनी किचनमा पोखरा रोयल सहकारीकै सदस्यहरु जोडिएका भए पनि छुट्टै कम्पनी हो । यो प्राइभेट लिमिटेडका रुपमा दर्ता छ । हरेक सदस्यले समान रू साढे दुई लाख बराबर लगानी गरेका छन् । रेष्टुराँमा एक सय जनालाई एकै साथ सेवा दिने क्षमता छ भने एक सय जनासम्म अटाउने बैङ्क्वेट तथा पार्टी भेन्यु पनि सञ्चालनमा छ । एउटा रेन्टुराँ चलाउनका लागि ९९ जनाको लगानी किन ? ‘यसको सांकेतिक अर्थ त छ नै । व्यवहारिक रुपमा पनि यस्तो हुन गयो । प्राइभेट कम्पनीमा ९९ जनाभन्दा बढी सदस्य बस्न नमिल्ने रहेछ । नत्र हामी अरु महिला दिदीबहिनीलाई पनि यसमा सहभागी गराउने सोचमा थियौं’, सञ्चालक गुरुङले भनिन् ।

कोभिड–१९ महामारीभन्दा केही समयअघि मात्र शुरु भएको रेस्टुराँ लकडाउनका समयमा नराम्रोसँग थलियो । व्यवसाय पूर्णरुपमा बन्द भएपछि सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था आएको थियो । तर दिदीबहिनी किचनले कर्मचारी कटौती गरेन । तीन वर्षदेखि सञ्चालनमा रहेको रेस्टुराँमा हाल २० जना कर्मचारी छन् । व्यवसाय शुरु गरेको पहिलो दुई वर्ष निकै समस्या भोगेको रेस्टुराँ आर्थिक वर्ष २०७८-७९ मा भने लगानीकर्तालाई पाँच प्रतिशत लाभांश दिन सफल भएको अध्यक्ष गुरुङको भनाइ छ ।

दिदी बहिनी किचेनले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । ‘रेस्टुराँसँग जोडिएका दिदीबहिनीहरु सामाजिक काममा पनि खटिनु हुन्छ । यस वर्ष हामीले न्यून आर्थिक अवस्था भएका केहीलाई न्यानो कपडा बाँड्यौं ।’ कम्पनीमा आवद्ध महिलालाई अन्य सीपमुलक काममा पनि खटाउने गरेको उनको भनाइ छ ।

सहकारीको अवधारणाबाट सञ्चालित रेष्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ । यहाँ सदस्यहरु आफै सेवामा खटिन्छन् । लगानीकर्ताका परिवारका सबै सदस्य प्रत्येक महिना कम्तीमा एकपटक यो रेस्टुराँमा खाना खान आइपुग्छन् ताकि यहाँको व्यवस्थापन मात्र होइन खानेकुराको स्वाद, गुणस्तर, सेवाप्रवाह जस्ता कुराको जानकारी लिन सकियोस ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७