चन्दा आतंक मच्चाउने चार जना पक्राउ


१६ माघ २०७९, सोमबार
Janatantrik

कपिलबस्तु । भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाएको आरोपमा प्रहरीले कपिलवस्तुबाट चार जनालाई पक्राउ गरेको छ । नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्तसहित चार जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो ।

प्रहरीले आज (सोमबार) पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इञ्चार्ज विपिन विक, बृजेश गिरी र सुग्रिम रैदास रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराले जानकारी दिइन् ।

गत कात्तिकमा कपिलवस्तुमा दुई वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रुपमा चन्दा उठाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि गत २२ कात्तिकमा दुई वटा ट्रक र एउटा मोटरसाइकलमा श्रृङ्खलावद्ध आगजनी गरेको आरोप छ । ती गाडी जलाएका तीन वटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक विक्रान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्दलगायतका विभिन्न ७ बुँदे मागसहितको पर्चाहरू प्रहरीले फेला पारेको थियो ।

त्यस्तै उनीहरुले गत पुसको १६, १७ र १८ गते कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका ३४ वर्षका वुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयाँ चन्दा मागेका थिए । चन्दा नदिए भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए । २६ पुर र २ माघमा कृष्णनगर नगरपालिक–८ मौजा गणेशपुरका ४४ वर्षका ओमकार चौधरीलाई फोन गरेर १० लाख रुपैयाँ चन्दा मागेका प्रहरीले बताएको छ ।

माघको २ देखि १३ गतेसम्म शिवराज नगरपालिका–७ बालानगर बस्ने पुजारीप्रसाद चौधरीलाई फोन गरेर ५ लाख रुपैयाँ चन्दा मागेका थिए । मागेको चन्दामध्ये एक लाख लिँदै गर्दा १३ माघमा बिरु भन्ने बृजेश गिरी र सुग्रिम रैदास एक लाख रुपैयाँसहित पक्राउ परेका थिए । उनीहरूको सूचनाको आधारमा प्रहरीले विक्रान्त भन्ने जग्गु तेली र जनतान्त्रिक मुक्ति मोर्चाका जिल्ला इञ्चार्ज बताउने विपिन विक पनि पक्राउ परेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७