रविलाई गृह दिन प्रधानमन्त्रीको आनाकानी, नपाए सरकार नै छाड्ने रास्वपाको चेतावनी


१७ माघ २०७९, मंगलवार
prachanda rabi lamichhane

काठमाडौं । सत्ता गठबन्धनमा विस्तारै असमझदारी बढ्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व सहमतिअनुसार नै गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने भन्दै दबाव बढाएपछि गठबन्धनमा फाटो बढ्दै गएको हो ।

रास्वपाका सभापति रवि लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर गृह मन्त्रालय आफ्नो पार्टीलाई नै दिन प्रस्ताव गरिरहेका छन् । तर प्रधानमन्त्रीले भने आनाकानी गरेको रास्वपाले जनाएको छ ।
गृह मन्त्रालय रविलाई दिन प्रचण्डको आनाकानी

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपाले नै गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रस्ताव गरिएको भए पनि जवाफ सकारात्मक आइनसकेको जानकारी दिएका छन् । ‘गृह मन्त्रालयमा को जाने भन्ने नटुंगिएकोले नेगोसियट गर्ने जिम्मेवारी सभापतिलाई नै दिएको हो । यसमा प्रधानमन्त्रीले सल्लाह गरौंला, बिचार गरौंला भनेर आनाकानी गरिरहनु भएको छ,’ सहमहामन्त्री बुर्लाकोटीले भने ।

मंगलवार विहान पनि लामिछानले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर गृह मन्त्रालय आफूलाई दिन आग्रह गरेका थिए । ‘उहाँहरुले धेरै तिरबाट दबाव पनि दिने । नागरिकता बोकेर धाउनेस्थिति देखिएको छ,’ लामिछानेले गृहमन्त्री मागेर दबाव दिएको बालुवाटार स्रोतले जनायो ।

लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफू नै गृहमन्त्री हुने र त्यसका लागि लबिङ गरिदिन आग्रह गरेका थिए । एमाले लामिछानेलाई नै गृहमन्त्री दिन सकारात्मक छ । तर माओवादी केन्द्रका नेताहरुले भने गृह मन्त्रालय माओवादी केन्द्रले नै पाउनुपर्ने बताइरहेका छन्।

गृह मन्त्रालय तथा राष्ट्रपतिको निर्वाचनबारे पार्टीका नेताहरुको धारणा सुन्न आज पनि पदाधिकारी बैठक चलिरहेको छ । सोमवार पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो । त्यसअघि दुई दिन स्थायी कमिटीको बैठक बसेको थियो भने पदाधिकारी बैठकमा गृहकार्य गरेपछि स्थायी कमिटीले राष्ट्रपति र गृह मन्त्रालयबारे टुंगो लगाउने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका थिए । निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपतिको र चैत ३ गते उप राष्ट्रपतिको निर्वाचन तोकेको छ । फागुन १३ गते नै राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका छ ।

नागरिकता विवादमा परेपछि सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागे पनि लामिछानले नेपालको नागरिकता पुनप्राप्तिका लागि प्रक्रियामा जानुपर्ने फैसला गरेको थियो । उक्त फैसलापछि लामिछानेको सांसदसँगै मन्त्री र पार्टी सभापति तथा संसदीय दलको नेताको पद गएको थियो । लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए । उनी सांसद नरहेकाले गैरसांसद पनि ६ महिनाका लागि मन्त्री हुनसक्ने संविधानको व्यवस्थाअनुसार मन्त्री हुन चाहिरहेका छन् । तर उनको राहदानीसम्बन्धि विवाद कायमै रहेकाले विवादित व्यक्तिलाई नै सरकारमा सामेल गराउन नहुने पक्षमा प्रचण्ड छन् ।

गृह मन्त्रालय नपाए सरकार छोड्ने रास्वपाको चेतावनी

रास्वपाले गृह मन्त्रालय नपाए प्रचण्ड नेतृत्वको सरकार छोड्ने चेतावनी दिएको छ । सहमहामन्त्री बुर्लाकोटीले पनि पार्टी उक्त निर्णय गर्न बाध्य हुने बताएका छन् । ‘गृह मन्त्रालय हामीले पाएका हौं । यो मन्त्रालय नपाए अलि अप्ठेरो पर्न सक्छ । सरकार छोड्ने निर्णयमा पुग्नुपर्ने हुन सक्छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७