गुणस्तरहीन औषधि बिक्री बढेकामा मन्त्रीको चासो, निगरानी बढाउन विभागलाई निर्देशन


१७ माघ २०७९, मंगलवार
padam giri health minister
फाइल फोटो

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् ।

आज (मंगलबार) औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो निर्देशन दिएका हुन् । उनले सीमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताए ।

उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनै पनि बहाना नबनाई प्रतिबद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरेका छन् । उनले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरु प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए । उनले यसमा विभाग ठोस योजनाका साथ अघि बढ्नुपर्ने बताए । उनले विभागले चाँडो भन्दा चाँडो कार्ययोजना बनाइ मन्त्रालयमा आफ्ना मागहरु लिएर आउन आग्रह गरे ।

मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताए । उनले नवीकरणसम्बन्धी कामहरु अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिए । उनले भने, ‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरू छ्यापछ्याप्ती छ भन्ने सुनेका छौँ । तपाईहरूले सर्टेन ठाउँको स्याम्पेलिङ गर्नुभयो । पछिल्लो समय ७ प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो, सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जानसक्छ । यसतर्फ हामीले कुनैपनि हिसावले जनशक्ति छैन, वा यो त्यो छैन भन्ने बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन ।’

त्यसमा सम्पूर्ण रुपले प्रतिबद्ध भएर विभागले आफ्ना कार्य अघि बढाउनु पर्ने उनले बताए । उनले भने, ‘मन्त्रालयले के सहयोग गर्नुपर्छ गर्नेछ । यो सवालमा जनशक्ति छैन, केही लिमिटेशनहरु छन् भन्ने लगायतका इत्यादि कुराले गर्न सकेका छैनौँ भन्न पाइँदैन । यो मैले स्पष्ट रुपमा भनेको छु, प्रभावकारी कार्यान्वयन होस् । सातै प्रदेशमा औषधि विभागका कार्यालयहरु स्थापना गर्नुपर्छ, आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्छ, अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जानुपर्छ ।’

मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिए । उनले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने बताए । मन्त्री गिरीले स्वास्थ्यको क्षेत्रमा अब नेपालमा आधारभूत रुपले जनताले अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रको सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७