महामन्त्री शर्मा दावी : कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति


१७ माघ २०७९, मंगलवार
bishwo prakash sharma
फाइल फोटो

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको राष्ट्रपति बन्ने दावी गरेका छन् । आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने दावी गरे ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्नेबारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक गरिने बताएका छन् । उनले भने, ‘हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ । अहिले मैले नाम भन्नु उचित हुँदैन । अब हामी बैठक बस्छौं र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौ ।’

नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनले बताएका छन् । सत्ता साझेदार दलमा अहिलेसम्म राष्ट्रपतिको उम्मेदवारका विषयमा ठोस निर्णय भएको छैन । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार चयन हुनुपर्ने पक्षमा देखिएका छन् ।

यता सत्ता साझेदार दल नेकपा एमालेले भने सरकार निर्माणको सहमति अनुसार राष्ट्रपतिमा एमालेको उम्मेदवारमा सहमति हुनुपर्ने बताउँदै आएको छ । पछिल्लो समय राष्ट्रपति चयन र गृहमन्त्रीको विषयले सत्ता साझेदार दलहरुमा असहमति देखिन थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७