सरकारलाई रञ्जिता चौधरीको प्रश्न : निर्दोष थारु राजबन्दीको लाल आयोग कहाँ छ ?

काठमाडौं । सांसद रञ्जिता श्रेष्ठ चौधरीले निर्दोष थारु राजबन्दीको लाल आयोग कहाँ छ ? भन्दै सरकारसँग प्रश्न गरेकी छन् । सांसद् चौधरीले आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले थुनेको आरोप लगाइन् ।
चौधरीले भनिन्, ‘निर्दोषलाई फसाइएको छ । निर्दोष थारुहरूले न्याय पाउँछौ भनेर मेरो मन खुसी भएको थियो । तर, अहिलेसम्म रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बनेन ।’ ‘जनमतको कदर गरौं, २०७४ मा चुनावमा हुँदा माननीय रेशम चौधरीज्यूले ३४ हजार ३४१ मत पाउनु भएको थियो र अहिले मैले पनि त्यहीँ मत २०७९ को चुनावमा ३० हजार ४०४ मत पाएकी छु,’ उनले भनिन् ।
यस्तै उनले सडकबाट उठाइएको आवाजलाई सुनिएनन् र अब सदनमा गएर बोल्नुस् भन्दै यो जनमत पाएको उनको भनाइ छ । उनले भनिन्, ‘सभामुख महोदय, फैसलाको हथौडा ठोकेर फेरि पनि भनिदिनुस्, निर्दोष थारुहरुका लागि निर्दोष हो भनेर बनाइएको लाल आयोग कहाँ छ, एक पटक पक्कै पनि खोजिदिनुहोस् भनेर भन्न चाहन्छु ।’