प्रेस चौतारीले वरिष्ठ पत्रकार चापागाईंलाई सहित ६ पत्रकारलाई पुरस्कार गर्ने

काठमाडाैं : वरिष्ठ पत्रकार तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईं हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका छन्। संगठनको सचिवालय बैठकले बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा गठन गरेको पुरस्कार छनोट समितिले पूर्वअध्यक्ष चापागाईंलाई हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।
२५औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपालले सो पुरस्कारबाट रुपन्देहीका वरिष्ठ पत्रकार चापागाईं पुरस्कृत हुन लागेको जानकारी गराएको हो। आगामी २२ माघमा चौतारीले देशभर स्थापना दिवस मनाउँदै छ।
त्यस्तै, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार बाग्लुङका पत्रकार कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार दैलेखका पत्रकार याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार बाराका पत्रकार लक्ष्मी साह, सावित्रीदेवी–पद्यमलक्ष्मी बस्नेत पत्रकारिता पुरस्कार सुनसरीका पत्रकार लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार डडेल्धुराकी पत्रकार ममता भट्टलाई प्रदान गरिने महासचिव हिरामान लामाले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजना हुने कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुरस्कार प्रदान गर्नेछन्।
प्रेस विज्ञप्ति
सर्वप्रथम श्रमजीवी पत्रकारहरूको साझा तथा लोकप्रिय संगठन प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी पत्रकारहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
यसै सन्दर्भमा संगठनले अग्रजहरूको सम्मान तथा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरी हरेक वर्ष प्रदान गर्दै आइरहेको विभिन्न विधाको पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गर्ने निर्णय गरेको छ ।
सोही सन्दर्भमा वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा संगठनका उपाध्यक्ष देविका घर्ती मगर र महासचिव हिरामान लामा सदस्य रहेको पुरस्कार छनौट समिति गठन गरिएको थियो । उक्त समितिको विभिन्न चरणका बैठक/छलफल/संवाद मार्फत ६ वटा विधाका विभिन्न पुरस्कारबाट ६ जना निम्न अग्रज तथा क्रियाशील पत्रकारहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको ब्यहोरा जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित भएका छौ ।
साथै पुरस्कार छनौट समितिले पुरस्कारको शीर्षकका आधारमा विभिन्न मापदण्ड निर्माण गरेको थियो । सोही बमोजिमका मापदण्डका आधारमा निम्न व्यक्तित्वहरू छनौटमा पर्नुभएको छ । उक्त पुरस्कार संगठनको २५ औँ स्थापना दिवसको दिन यही माघ २२ गते नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यमा काठमाडौँमा सम्पन्न हुने विशेष समारोहका बिच प्रदान गरिनेछ ।
१. हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार
- डा. बालकृष्ण चापागाईँ – रुपन्देही
२. अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार
- कृष्ण केसी – लमजुङ
३. डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
- याम शर्मा – दैलेख
४. वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
- लक्ष्मि साह – बारा
५. सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार
- लीलाराज भट्टराई – सुनसरी
६. चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार
- ममता भट्ट – डडेलधुरा
पुरस्कृत सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ सशक्त पत्रकारिताको अपेक्षा समेत गरेका छौ । साथै यही विज्ञप्तिमार्फत हाम्रो संगठनको देशभरका सबै प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूमा विभिन्न रचनात्मक कार्यक्रम गरी यही माघ २२ गते संगठनको २५ औँ स्थापना दिवस मनाउने समेत जानकारी गराउँदछौ ।
हिरामान लामा
महासचिव