झोलुङ्गे पुलका कारण त्रिवेणीमा बढे पर्यटक


२० माघ २०७९, शुक्रबार
pool golunga

नवलपरासी । वाल्मीकि आश्रमलाई जोड्ने गरी त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माणपछि यहाँ पर्यटकको आगमन बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित त्रिवेणीधाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरी नारायणी नदीमा झोलुङ्गेपुल निर्माण भएपछि पर्यटकको आगमनमा वृद्धि भएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए ।

हालै मात्र वाल्मीकि आश्रममा नेपालकै बाटो भएर जान मिल्ने गरी नारायणी नदीमा पुल निर्माण गरिएको छ । पुल निर्माण गरेसँगै त्रिवेणीधामसहित पुल अवलोकनका लागि आउने पर्यटकको संख्या बढेको अध्यक्ष शाहले बताए । झोलुङ्गे पुल क्षेत्रमा मात्रै दैनिक पाँच सयका हाराहारीमा पर्यटक आउने गरेको उनले बताए ।

यहाँ आउने धेरैजसो पर्यटक भारतीय हुने गरेका छन् । साथै नवलपुरसहित नजिकका जिल्लाबाट समेत त्रिवेणीधाम र झोलुङ्गे पुल अवलोकनका लागि पर्यटक आउने गरेको उनले बताए । पुल क्षेत्रमा फोटो खिच्ने, टिकटक बनाउनेको संख्या उल्लेख्य हुने गरेको छ । ‘हिजो आज पुल क्षेत्रमा पर्यटकको आगमन बढेको छ, अहिले पुलबाट वाल्मीकि आश्रम जान मिल्दैन, तर पुल हेर्न, फोटो खिच्न, टिकटक बनाउन मात्रै भए पनि पर्यटक आउने क्रम बढेको छ’, अध्यक्ष शाहले भने ।

वाल्मीकि आश्रम जान मिल्ने गरी निर्माण गरिएको झोलुङ्गेपुल पाँच सय ३५ मिटर लम्बाइको रहेको छ । पुल नौ वर्षमा निर्माण सम्पन्न भएको हो । पुल निर्माण गरिएको भए पनि हाल सुरक्षा चुनौतीका कारण पुलबाट वाल्मीकि आश्रम जान रोक लगाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने भएकाले सुरक्षाको प्रबन्ध नभएसम्मका लागि पुलबाट आवतजावतमा रोक लगाइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

चितवनतर्फ पुल पारी वाल्मीकि आश्रमसम्म जानका लागि हाल बाटो निर्माणको काम समेत बाँकी रहेको छ । सुरक्षाको प्रबन्धसँगै पारिपट्टि बाटो निर्माणका बारेमा छलफल चलिरहेको गाउँपालिका अध्यक्ष गिरीले बताए । ‘सुरक्षाकर्मी स्थायी रुपमा बस्ने गरी केही संरचना निर्माण गर्ने विषयमा छलफल चलेको छ, पारिपट्टि बाटो समेत बनाउनुपर्ने छ’, उनले भने, ‘त्यसपछि झोलुङ्गेपुल सञ्चालन गर्ने कुरा छ, त्यसपछि नेपालकै बाटो भएर सहज रुपमा वाल्मीकि आश्रम जान सकिन्छ ।’

चितवनमा पर्ने वाल्मीकि आश्रम पुग्न यसअघि भारतको बाटो हुँदै जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै जान मिल्ने गरी त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माण गरे पनि अझै सञ्चालनमा ल्याउन नसक्दा भने यहाँ पुग्ने पर्यटक वाल्मीकि आश्रम नगइ फर्कने गरेका छन् । चाडै आवश्यक व्यवस्थापन गरी पुलबाट वाल्मीकि आश्रम जाने प्रबन्ध गरे त्रिवेणीसहित यस क्षेत्रमा थप पर्यटकको आगमन बढ्ने स्थानीय हरिशङ्कर कँडेलले बताए ।

वाल्मीकि आश्रम चितवनमा पर्ने भए पनि यसको व्यवस्थापनको काम गाउँपालिकाले गर्दै आएको छ । त्रिवेणी धामसँगै वाल्मीकि आश्रमलाई एकीकृत गरी पर्यटन प्रवर्द्धन गर्न सके यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको थप आगमन बढ्ने कँडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७