क्लबको जग्गा व्यक्तिको नाममा, मालपोत प्रमुखसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

पर्सा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख कमोद तिवारीसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
युवा स्पोर्ट्स क्लबको पर्साको एक कट्ठा पाँच धुर जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा भूमिसुधार आयोगका प्रमुख कमोद तिवारी, नायब सुब्बा शम्भु साह रौनियार, खरिदार शिवप्रसाद साह तेली र रिन्ता कुमारीविरूद्ध मुद्दा दायर गरेको हो ।
यस्तै मतियारको रुपमा वीरगञ्ज महानगरपालिका ३१ का शेष सफि अहमद र शेख साजिद एकबालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ । उक्त जग्गा शेष सफी अहमदको नाममा लैजाने क्रममा गलत श्रेस्ता कायम गरेको पाइएको अख्तियारको ठहर छ ।
पर्साको वेल्वा गाउँपालिका ८ स्थित युवा स्पोर्ट्स क्लबको जग्गा व्यक्तिको नाममा गैरकानुनी तरिकाले श्रेस्ता कायम गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा भ्रष्टाचार गरेको पाइएकाले कार्यालय प्रमुख तिवारीसहित ६ जनाविरूद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम कसूर तथा सजायको माग दावीसहित आरोपपत्र दायर गरेको हो ।