वडाले जग्गा लिजमा लिएर किसानलाई दिने


२१ माघ २०७९, शनिबार
tulsipur upamahangarpalika

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ ले वडाका गरिब परिवारलाई लिजमा जग्गा दिने भएको छ । छ महिनासम्म खाना नपुग्ने गरिब घर परिवार पहिचान गरी प्रत्येक परिवारलाई पाँच कट्ठाका दरले जग्गा दिने भएको छ ।

वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए । ‘हाम्रो वडामा अधिकांश खेती किसानी गरेर जीवन निर्वाह गर्ने समुदाय छ’, उनले भने, ‘उहाँहरुको जीवन निर्वाहका लागि हामीले यो योजना अघि बढाएका हौँ ।’

त्यसका लागि सूचना समेत प्रकाशन गरिएको छ । फागुन महिनासम्म सूचना आह्वान गरिएको र त्यसपछि गरिब घरपरिवार तथा बेरोजगारको मूल्याङ्कन गरेर जग्गा दिने उनको भनाइ छ । ‘हामीले प्रत्येकलाई पाँच कट्ठा जग्गा दिने छौं’, अध्यक्ष रावतले भने, ‘त्योबापत कुनै रकम पनि लिइने छैन ।’ किसानलाई त्यो जग्गामा फलफूल तथा तरकारी खेती गर्नुपर्नेछ । उत्पादन भएको तरकारी बजारीकरण गर्ने जिम्मा पनि वडाले नै लिने वडाध्यक्ष रावतको भनाइ छ ।

उत्पादन भएको तरकारी बजारीकरणमा पनि उत्तिकै समस्या रहने गरेको भन्दै त्यसलाई बजारीकरणमा पनि वडाले नै जिम्मा लिने उनले बताए । बीउ, मलमा पनि सहयोग गर्ने उनले बताए । त्यहाँ करिब २० बिघा क्षेत्रफलमा सिँचाइ गर्न जलाशय निर्माण भएको र त्यसलाई लिफ्टमार्फत खेतमा पु¥याउने तयारी छ । करिब रु ३० लाखमा त्यहाँ जलाशय निर्माण गरिएको हो ।

वडाले किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । केही समय अघि उत्पादित कृषिजन्य वस्तु घोडामार्फत बजार लैजाने व्यवसायीलाई प्रोत्साहनस्वरुप रु १० हजार उपलब्ध गराइएको थियो । त्यस्तै भैँसीपालन व्यवसायीलाई पनि प्रोत्साहन गर्ने तयारी रहेको वडाध्यक्ष रावतले बताए । व्यावसायिकरुपमा भैँसीपालन व्यवसाय गरेकालाई दानाका लागि सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७