तनहुँ जलविद्युत् आयोजानाको सुरुङ बनेपछि निर्माणमा सहज


२१ माघ २०७९, शनिबार
tanahu hydropower rqaA3T5Cae

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ बनेपछि निर्माणको काममा सहज भएको छ ।

व्यास नगरपालिका–५ बेतेनीतर्फ उक्त प्रवेश सुरुङ (ब्रेक थु्र) भएपछि सेती नदीको बायाँतर्फ गरिने निर्माण कार्यका लागि निर्माण सामग्री तथा उपकरण लैजान र मानिसलाई आवतजावतमा सहज भएको हो । बाँधसम्म जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायीरुपमा प्रयोग गरिने आयोजना प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।

सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ भएको प्रवेश सुरुङ निर्माण सम्पन्न गरिएको हो । आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ ।

त्यसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति लगायतका काम भइरहेको उनले बताए ।

पाँच सय ३९ दशमलव आठ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ को ब्रेक थु्र भइसकेको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रोले गरिरहेको आयोजना प्रमुख श्रेष्ठले बताए । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य केइसीले गरिरहेको छ ।

आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

त्यसमा एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७