माधव नेपालको नजरमा एघार दल
कांग्रेस दलाल पुँजीपतिको पार्टी, एमाले अवसरवादी, माओवादी अस्थिर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । शनिबारबाट सुरु भएको पाँचौ केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राजनीतिक दलहरुको बारेमा बिश्लेषण पनि गरेका छन् । अध्यक्ष नेपाललले कांग्रेस दलाल पुँजीपतिको पार्टी, एमाले अवसरवादी, माओवादी अस्थिर पार्टीको रुपमा व्याख्या गरेका छन् ।
एघार दलमाथि माधव नेपालको बिश्लेषण :
३. राजनीतिक शक्तिहरू
अहिले मुलुकको राजनीतिक रङ्गमञ्चमा विभिन्न खाले राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण
अँगालेका र विभिन्न चरित्र भएका राजनीतिक शक्तिहरू क्रियाशील छन् । ती राजनीतिक शक्तिहरू संसदभित्र
समेत क्रियाशील छन् भने केही संसद बाहिर मात्रै क्रियाशील छन् । संसद बाहिर खासगरी बिप्लव समूह,
वैद्य समूह आदि कम्युनिष्ट आन्दोलनभित्रका केही घटकहरू रहेका छन् । संसदभित्र अनेक चरित्रका राजनीतिक
दलहरू क्रियाशील छन् । तिनीहरूको संक्षिप्त चित्रण निम्नानुसार गर्न सकिन्छ :
३.१. नेपाली काँग्रेस : अहिले प्रतिनिधि सभाको सबैभन्दा ठुलो दलका रूपमा रहेको नेपाली काँग्रेस पुँजीपति
वर्ग चरित्रको पार्टी हो । नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गको समेत
हित प्रतिनिधित्व गर्दछ । तथापि यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ ।
३.२. नेकपा (एमाले) : प्रतिनिधि सभाको दोस्रो ठुलो दलका रूपमा रहेको नेकपा (एमाले) दक्षिणपन्थी
अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन । दलाल पूँजीपति वर्गसँगको
लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति
प्रतिबद्ध छैन । विगतको व्यवहारलाई हेर्दा यसले आÇनो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई
मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ ।
३.३. नेकपा (माओवादी केन्द्र) : प्रतिनिधि सभाको तेस्रो ठुलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र)
ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी हो । यसको पनि वर्ग अडान स्पष्ट छैन । सशस्त्र द्वन्द्वबाट शान्ति
प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ ।
यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम
चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ ।
३.४. रास्वपा : प्रतिनिधि सभाको चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पँुजीपति वर्ग चरित्रको पार्टी
हो । यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधानवादको कुरा गरे
पनि गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन । यो पार्टी प्रतिनिधि
सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको
परिस्थितिमा सस्तो लोप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोप्रियतावादले सर्वसाधारण जनतामा
भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गर्दै छ ।
३.५. राप्रपा : प्रतिनिधि सभाको पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सामन्ती तथा दलाल नोकरशाही
पुँजीपति वर्ग चरित्रको पार्टी हो । यो पार्टी समाजमा अवशेषको रुपमा रहेको सामन्ती पछौटे एवं
लम्पट चिन्तनको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र सङ्घीयता विरोधी पार्टी हो । यसले जनताको
क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनःस्थापना गर्न चाहन्छ ।
३.६. जसपा : प्रतिनिधि सभाको छैँठौँ स्थानमा रहेको जनता समाजवादी पार्टी प्रजातान्त्रिक साजवादी सिद्धान्त
आँगालेको पार्टी हो । मुख्यतः मधेश प्रदेशमा प्रभाव राख्ने यो पार्टी मधेशको मध्यम वर्गीय तप्काको
प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र सङ्घीयताप्रति प्रतिवद्ध रहेको छ ।
३.७. जनमत पार्टी : प्रतिनिधि सभाकोे आठौँ स्थानमा रहेको जनमत पार्टी विगतमा मधेशलाई नेपाली
उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनु पर्दछ भन्ने पृथकतावादी सोंच आँगालेको पार्टी हो तर
अहिले संविधान मान्ने र त्यस अन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको छ । यो पार्टी गणतन्त्र
र सङ्घीयताप्रति प्रतिवद्ध रहेको छ ।
३.८. लोसपा : प्रतिनिधि सभाको नवौँ स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी बुर्जुवा चरित्रको पार्टी
हो । मुख्य गरी मधेश प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टी पनि
मधेशको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो । यो गणतन्त्र र सङ्घीयताप्रति प्रतिवद्ध रहेको छ ।
३.९. नाउपा : संसदको दशौँ स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड
दिने पार्टी हो । यो पार्टी थारु जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर सङ्गठित एवं
क्रियाशील छ । यसको वर्ग चरित्र स्पष्ट छैन ।
३.१०. नेमकिपा : प्रतिनिधि सभाको एघारौँ स्थानमा रहेको नेपाल मजदुर किसान पार्टी जडसूत्रवादी एवं
अत्यन्त सङ्कीर्ण चरित्रको कम्युनिष्ट पार्टी हो । यो पार्टी मूलतः श्रमजीवी वर्गको पक्षमा उभिन्छ तर
नेतृत्वमा रहेको निम्नमध्यम वर्गीय जडता र सङ्कीर्णताले गर्दा निरन्तर खुम्चिदै गएको छ । भक्तपुर
जिल्लामा सीमित यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध नै छ ।
३.११. राजमो : प्रतिनिधि सभाको बाह्रौँ स्थानमा रहेको राष्ट्रिय जनमोर्चा नेकपा (मसाल) को खुला राजनीतिक
सङ्गठन हो । यो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध तर सङ्घीयताको विरोधी पार्टी हो ।
आफ्नै नजरमा आफ्नो पार्टी
नेपाली श्रमजीवी वर्गको सच्चा प्रतिनिधिका रूपमा रहेको हाम्रो पार्टी प्रतिनिधि सभाको सातौँ स्थानमा छ ।
यो पार्टी वर्तमान संविधान, गणतन्त्र र सङ्घीयताप्रति प्रतिवद्ध रहदै समाजवादी कार्यदिशा अँगालेर अगाडि
बढिरहेको छ । हामीले आजभन्दा करिव १६ महिना पहिले तत्कालीन नेकपा (एमाले) मा व्याप्त दक्षिणपन्थी
अवसरवाद एवं विसर्जनवाद, व्यक्तिवादी अहङ्कारवाद, निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्ति र चरम गुटबन्दीका
साथै संविधानमाथिको आक्रमण र जनक्रान्तिका उपलब्धीमाथि धावा बोल्ने प्रतिगमनकारी कदमका विरुद्ध
विद्रोह गरेर पार्टी पुनर्गठन अभियान सुरु गरेका थियौँ । त्यो अभियान अहिले पनि जारी छ । आजको
राजनीतिमा सैद्धान्तिक रुपले हामी नै नेकपाका सच्चा प्रतिनिधि हौँ तर एमालेबाट विद्रोह गरी आएको हुनाले
त्यसका कैयन विसङ्गतिहरू हामीसँग पनि आएका छन् । हामीले ती विसङ्गतिहरूबाट आफुलाई मुक्त गरेर
अगाडि बढ्नु पर्दछ ।