सत्ता गठबन्धनबाट राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालले उम्मेदवारी दिने


२२ माघ २०७९, आईतवार
Urmila aryal

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षका लागि आज (आइतबार) मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले यसका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म ल्होत्से हलमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ ।

आज दिउँसो ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र त्यसपछि दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमवार दिउँसो १२ बजे उपाध्यक्ष चयनको मिति तय गरेका थिए ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रिय सभाको उपाध्यक्षको पद रिक्त छ । उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उर्मिला अर्यालले उम्मेदवारी दिने तयारी छ । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् ।

सत्तारूढ दलहरू नेकपा (एमाले)का १६, नेकपा (माओवादी केन्द्र) का १५ गरी ३१ जना राष्ट्रिय सभा सदस्य छन् । ५९ सदस्यीय राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने/नदिनेबारे निर्णय गरिसकेका छैनन् ।

हिजो यसबारे छलफल भएको र आज बिहान थप छलफलको तयारी रहेको नेपाली कांग्रेसले जनाएको छ । सत्ताबाहिरका नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का आठ, जनता समाजवादी पार्टी नेपालका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् । रिक्त एक पदका लागि माघ २५ गते उपचुनाव हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७