राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा तान्ने कोशिस नगरौं : योगेश भट्टराई


२२ माघ २०७९, आईतवार
yogesh bhattrai
फाइल फोटो

ताप्लेजुङ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा तान्न नहुने बताएका छन् ।

प्रेस चौतारी ताप्लेजुङले आज (आइतबार) आयोजना गरेको स्थापना दिवस एवं पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सवै दलका नेताले भनेजस्तै राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताए । बहुमत प्राप्त हुँदाहुँदै पनि २०४८, ५६ र ७४ सालमा मध्यावधि निर्वाचन गर्नुपरेको स्मरण गर्दै भट्टराईले नेपालको राजनीति चुनावदेखि चुनावको गोलचक्करमा फसेको र त्यस्तो स्थिति नहोस् भनेर राजनीतिक नेतृत्व र सबै सचेत हुनुपर्ने बताए । सञ्चार क्षेत्रले पनि यसमा खबरदारी गर्न जरुरी रहेको उनको भनाइ छ ।

‘बहुमत प्राप्त भएको संसद् पनि पूरा समय नचल्नु, त्यसले पूर्णकाल चल्न नपाउनु आफैमा एउटा दुःखदायी कुरा हो,’ भट्टराईले भने, ‘यस्तो अवस्थामा हाम्रो विकास निर्माण, हाम्रो पछौटेपन हाम्रो अविकासजस्ता विषयमा राजनीतिक नेतृत्वको ध्यान जान सक्दैन ।’ यसमा राजनीतिक नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्छ ।

पहिलो राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा बहुमत नपुग्दा एमालेले पनि मतदान गरेको स्मरण गर्दै भट्टराईले यो पटकको निर्वाचनमा कांग्रेसले एमालेका उम्मेदवारलाई मतदान गर्ने अपेक्षा गरे । ‘राष्ट्रपति जस्तो सम्मानित संस्थालाई कुनै राजनीतिक दलको घेराभित्र ल्याएर छलफल गर्नु हुँदैन,’ भट्टराईले भने, ‘तर विवादमा तान्ने कोशिस भइरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७