सरकारबाट बाहिरिएको रास्वपालाई फर्काउने पहल हुँदै, रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने


२३ माघ २०७९, सोमबार
Gathabandhan
फाइल फोटो

काठमाडौँ । सरकार गठनकाे ४२ दिनमै बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फेरि सरकारमा फर्काउन अरु सत्तारुढ दलहरुले तयारी गरेका छन् ।

सत्तारुढ मुख्य दलहरु एमाले, माओवादी र राप्रपाका नेताहरुले रास्वपालाई फेरि सरकारमा फर्काउनका लागि अनौपचारिक छलफल थालेका छन् । हिजो संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ता गठबन्धन जोगाउने पक्षमै रहेको बताएका थिए ।

सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन यथावत राखेको छ । रास्वपा बाहिरिएपछि रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने र आफैले जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको योजना छ । गएको पुस १० गते प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिपल्ट ११ गते उपप्रधान र गृहमन्त्रीको जिम्मेवारी दिएर रास्वपालाई सरकारमा सहभागी गराएका थिए ।

त्यतिबेला रास्वपाका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट दुई मन्त्री र एक राज्य मन्त्री थपिएका थिए । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछानेको पद नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाले खारेज भएको थियो ।

अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुनः लिने प्रक्रिया पूरा नगरेको सर्वोच्चको ठहरपछि लामिछाने प्रक्रिया पु¥याएर फेरि नेपाली नागरिकता लिएर पार्टी सभापतिमा फर्किएका छन् । त्यसपछि रास्वपाले सरकार गठनअघि साझेदार दलहरूबीच भएको सहमतिअनुसार आफ्नै पार्टीले गृह मन्त्रालय पाउनु पर्ने अडान राख्यो ।

फेरि गृह मन्त्रालयमा फर्कने योजनाका साथ लामिछानेले प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर भेटवार्ता गरेका थिए । तर, प्रधानमन्त्रीले सर्वोच्चको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय दिन नसकिने बताएपछि रास्वपाले हिजो पत्रकार सम्मेलन गर्दै सरकारबाट बाहिरिएको घोषणा गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७