तीन महिलाको हत्यारा पत्ता लगाउन ध्यानाकर्षण


२३ माघ २०७९, सोमबार
ins

खोटाङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले खोटाङमा छ वर्षअघि विभत्स तरिकाले शृङ्खलाबद्ध हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

इन्सेक प्रतिनिधि तारानाथ फुँयालले आइतबार आयोगका कामुसचिव मुरारीप्रसाद खरेललाई ज्ञापनपत्र बुझाउँदै विसं २०७३ माघ २६ गते विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी रीता तामाङ, धारिलो हतियार प्रयोग गरेर विसं २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ज्ञानीमाया विश्वकर्मा र विसं २०७४ साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी देवी विश्वकर्माको परिवारलाई न्याय दिलाउन ध्यानाकर्षण गराएका हुन् ।

आयोग समक्ष महिलाको हत्याका विषयमा वस्तुनिष्ठ छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन र आम नागरिकलाई राज्य र मानवअधिकारको प्रत्याभूति दिलाउन माग गरिएको इन्सेक प्रतिनिधि फँुयालले बताए । यसअघि राष्ट्रिय महिला आयोगले तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन यही माघ ५ गते गृह मन्त्रालयलाई पत्राचार गरेको जनाइएको छ ।

छ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँमा भएका तीन महिलाको विभत्स हत्याको घटना प्रकृति उस्तै–उस्तै देखिए पनि हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म दोषिको पहिचान गर्न सकेको छैन । लामो समय बित्दासमेत दोषी पहिचान नहुँदा निर्दोष महिलाको हत्या रहस्यमय बनेको छ । घटनामा कसको संलग्नता थियो, घटनाको कारण के थियो भन्ने प्रश्नको जवाफ अझै गर्भमै रहेको छ । तीन महिलाको शृङ्खलाबद्ध हत्यामा संलग्न दोषी पत्ता लाग्न नसक्दा जिल्लामा प्रहरी प्रशासनको आलोचना हुने गरेको छ ।

घटनाका दोषी पहिचान नभएको विषयमा जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा आवाज उठ्ने गरेको छ । तीन महिलाको शृङ्खलाबद्ध हत्याका विषयमा अनुसन्धान जारी रहे पनि रिजल्ट (नतिजा) प्राप्त हुन नसकेको प्रहरीले जवाफ दिने गरेको छ । जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा पीडित परिवार त्रसित छन् भने दोषीको मनोबल बढाउन टेवा पुगिरहेको इन्सेक प्रतिनिधि फुँयालले बताएका छन् । तीन महिलाको हत्यारा पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन जिल्लास्थित महिला अधिकारकर्मीले प्रहरी प्रशासनको ध्यानाकार्षण गराउँदै आएका छन् ।

होटलमा काम गर्दै आएकी १७ वर्षीया रीता खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित कुसेऔँशी जङ्गलमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन् । सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी उनको शव बाटोभन्दा करिब ४० मिटर तल भिरमा भेटिएको थियो । टाउको फुटेको, दाँत झारिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुङ्गाले काटिएको अवस्थामा शव भेटिएकाले उनको हत्या गरिएको स्थानीयवासीको दाबी छ । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ ।

यस्तै स्याउला काटेर घर फर्कने क्रममा ५७ वर्षीया ज्ञानीमायाको इलाका प्रहरी कार्यालय महादेवस्थानभन्दा करिब पैदल पाँच मिनेटको दूरीमा हत्या भएको थियो । हलेसी मन्दिरतर्फबाट स्वास्थ्य चौकी जाने बाटोमुनि उनको शव विभत्स अवस्थामा भेटिएको थियो । ज्ञानीमायाको शव घाँटीको पछिल्लो भाग, देब्रे स्तनलगायतका ठाउँमा धारिलो हतियारको गहिरो चोट लागेको अवस्थामा भेटिएको जनाइएको छ ।

उनको हत्यापछि १२ आनाको रिङ, १० आनाको सौभाग्य, दुई आनाको फुली, कम्मरमा बाँधेको पेटीको गोजीमा राखिएको दुई आनाको औँठी लुटिएको श्रीमान् डिकबहादुर विश्वकर्माले बताउँदै आएका छन् । हत्या गरिएका ज्ञानीमायाको साथमा नगद रु तीन सय आठ मात्र फेला परेको थियो । उनको शव सुतेझैं अवस्थामा लडाइएको अवस्थामा भेटिएको थियो ।

जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माइती पुगेर घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी ३७ वर्षीया देवी दोस्रो दिन विसं २०७४ साउन ५ गते जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जङ्गलमा विभत्स हत्या भएको अवस्थामा फेला परेकी थिइन् । देवीको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको र टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएको जनाइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७