माओवादी एक मन्त्रालय लिएर मधेस सरकारमा सहभागी हुन तयार, सुनिता यादव मन्त्री बन्दै


२३ माघ २०७९, सोमबार
sunita

जनकपुरधाम । नेकपा माओवादी केन्द्र एक मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी हुन तयार भएको छ । नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा सुनिता यादव र रहबर अन्सारीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुनिता यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो । यसैगरी नेकपा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य रहबर अन्सारीलाई राज्यमन्त्री बनाउने निर्णय भएको नेकपा माओवादीका प्रदेश सदस्य उदय बरबरिया यादवले जानकारी दिएका छन् ।

मधेस प्रदेशमा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय छाडेर अन्य नौं मन्त्रालयमा मन्त्रीको शपथ तथा पदभार ग्रहण भइसकेको छ । तर माओवादीको भागमा परेको उद्योग, पर्यटन तथा वन मन्त्रालयको मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई बनाउने निर्णय भएको प्रदेश सदस्य बरबरियाले जानकारी दिए ।

सुनिता जनयुद्धकालीन शहीद रामवृक्ष यादवकी कान्छी छोरी हुन् । रामवृक्षको माओवादी जनयुद्धकालमा सेनाले हत्या गरेको थियो । सुनिताको परिवारमा दाजु शेखर यादव तथा श्रीमान डम्बर यादवले सहादत प्राप्त गरेका थिए । रामवृक्षको तीन छोरीहरूमध्ये बोधमाया, कल्याणी र सुनिता हाल पनि माओवादीमा सक्रिय राजनीतिमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७