नेपालीको तलव १० प्रतिशतले बढ्दा महँगी पनि ७ प्रतिशतले उक्लियो


२३ माघ २०७९, सोमबार
money scaled

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) ६ महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । ६ महिनाको तथ्याङ्क अनुसार नेपालमा महँगीभन्दा तलब तथा ज्यालाको वृद्धिदर धेरै देखिएको छ ।

मंसिरको तुलनामा पुसमा मूल्यवृद्धि दर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुसमा वार्षिक उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ । मंसिरमा ७.३८ प्रतिशत रहेको थियो । मंसिरको तुलनामा मूल्यवृद्धिदर घटेपनि गत वर्षको पुस मसान्तमा ५.६५ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत बढेको देखिएको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १६.४३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, विविध वस्तु तथा सेवाको ८.६८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.३३ प्रतिशतले बढेको छ ।

पुसमा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ पुस महिनामा यी क्षेत्रहरूमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

तलब तथा ज्यालादर सूचकांक २०७९ पुस महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकांक १०.२७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ५.७७ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः १२.३९ प्रतिशत र ९.६४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७