टर्की भूकम्पका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ७४४ पुग्याे

हजारौं घाइते, लाखौं घरबारविहीन


२४ माघ २०७९, मंगलवार
Turkey Earthquake 1

काठमाडौं । टर्कीमा हिजो (सोमबार) गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७ सय नाघेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४ सय ४४ जना गरी ३ हजार ७४४ जनाको ज्यान गएको पुष्टि भइसकेको रोयटर्सले जनाएको छ ।

टर्कीमा मात्रै १४ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको र सिरियामा पनि कयौ घाइते भएका बीबीसीले जनाएको छ । टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

Turkey Earthquake 2

हिजो बिहानको भूकम्पपछि कयौं परकम्प गइरहेका छन् । रातभर पनि खोजी तथा उद्धारको काम भएको छ । लाखौं मानिस घरवारविहीन भएका छन् । विस्थापितहरुलाई कठ्याङ्ग्रिँदो चिसोले समस्या थपेको छ । यसैबीच भूकम्पका कारण भत्किएका संरचनामा फसेकाहरुको खोजी तथा उद्धारका लागि विश्वका विभिन्न देशबाट विशेषज्ञ टोली पुग्ने क्रम सुरु भएको छ ।
अहिले धेरैले उद्धार विशेषज्ञ, डाक्टर, उपकरण र विशेष तालिम प्राप्त कुकुरहरू पठाइरहेका छन् । युरोपेली संघ, बेलायत, फ्रान्स, रुमेनिया, जर्मनी, हङ्गेरी, ग्रिस लगायतका देशबाट उद्धारटोली पुग्ने क्रम सुरु भएको छ ।

Turkey Earthquake 3

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गरेर आवश्यकता अनुसार सक्दो सहयोग उपलब्ध गराउन आफ्ना निकायलाई निर्देशन दिएको र आपत्कालीन विभागबाट सहयोग परिचालन सुरु भइसकेको जानकारी दिएका छन् । टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो । सन् १९९९ मा उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७