नेपाल आइपुगिन् यूएसएआईडी प्रमुख समान्था, प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्दै


२४ माघ २०७९, मंगलवार
Samantha Power

काठमाडौँ । यूएसएआईडीमार्फत् विश्वभरका १० हजार बढी कर्मचारीको नेतृत्व गरिरहेकी समान्था पावर दुई दिने भ्रमणका लागि मंगलबार बिहान नेपाल आइपुगेकी छन् । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यही उच्च तहको भ्रमण हो ।

नेपाल आए लगत्तै समान्था भक्तपुर पुगेकी छन् । अमेरिकी दूतावासका अनुसार उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग भेट्ने कार्यक्रम रहेको छ । समान्थाको यस भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

पावरले आफ्नो भ्रमण अवधिमा नेपालका नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले जनाएको छ ।

उनले भ्रमणमा नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ । यस क्रममा नेपालमा हालै गठन भएको नयाँ सरकारसँग आफ्नो संलग्नता बढाउने यूएसएआईडीको प्रतिबद्धतालाई उजागर गर्ने पनि बताइएको छ ।

पावरको नेपाल यात्राले आर्थिक, मानवीय र भूराजनीतिक मुद्दाहरूको दायरामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । एउटा युद्ध रिपोर्टरबाट करिअर सुरु गरेकी पावर चर्चित लेखक (पुरस्कार विजेता), यूएनका लागि अमेरिकी राजदूत हुँदै यूएसएआईडीको प्रमुख तथा क्याबिनेट स्तरको उच्च अधिकारी बनेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७