नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने, जोगिएला सुदूरपश्चिम प्रदेश सरकार ?


२४ माघ २०७९, मंगलवार
Rajendra rawal ranjeeta

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन् । राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने चौधरीले बताइन् ।

यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत दिने बताइएको थियो । अहिले पार्टीका प्रदेश सांसद्हरुको काठमाडौंमा बैठक चलिरहेको छ । भोलि सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत लिने कार्यक्रम छ ।

पुस २७ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री रावलले ३० दिन अर्थात २६ माघभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिने तयारीमा थिए ।

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिमको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, एकीकृत समाजवादी र एकजना स्वतन्त्र भने विपक्षमा छन् । कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री रावल नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७