हत्याको आठ वर्षपछि फरार दुई देवरविरुद्ध जन्मकैदको फैसला


२४ माघ २०७९, मंगलवार
Saptari District court2023 01 08 07 08 33

सप्तरी । भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय र उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैदको फैसला सुनाइएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तलाई जन्मकैदको सजाय सुनाएको हो । अभियुक्तहरू दुवै हालसम्म फरार रहेको अदालतले जनाएको छ । आठ वर्षदेखि पेसी रोकिँदै आएको सो मुद्दा सप्तरी जिल्ला अदालतका १८ जना न्यायाधीशले हेरिसकेका थिए ।

पटक पटक पेसी चढे पनि गत माघ १६ गते मुद्दाको ६१औं पटक पेसी सारेर फैसला हुन सकेको थिएन। जिल्ला अदालतले शिवानन्दलाई ०७४ साउन ४ गते रु. २० हजार र विद्यानन्दलाई ०७४ असोज १ गते रु. १५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

जनकपुर उच्च अदालतको राजविराज इजलासले पनि ०७५ असार ७ गते उक्त आदेश सदर गरेपछि मृतकको छोरा बेचनले उक्त आदेशविरुद्ध ०७५ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्च अदालतले मातहतका दुवै अदालतको आदेश बदर गर्दै ०७७ असार ५ गते दुवै आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकामा हालसम्म आरोपित दुवै फरार छन् ।

सिसौको रूखका हाँगा बेचनले घर ल्याएपछि विवाद बढ्दै गएपछि कुटपिट हुँदा लाठी र फलामको रड प्रहारबाट ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको ०७१ चैत १९ गते मृत्यु भएको थियो । छोरा बेचनले घटनाकै दिन ०७२ वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा अभियोगपत्र दायर गरेका थिए। फैसलाका लागि मुद्दाका सबै अंग पुगे पनि अस्वाभाविक ढिलाइले आर्थिक नोक्सानी र मानसिक तनाव झेलिरहेका बेचनले फैसलाप्रति सन्तोष व्यक्त गरे । अन्य आरोपितहरू शिवानन्दकी श्रीमती मञ्जुदेवी राय, विद्यानन्दकी श्रीमती विन्दुदेवी राय, उनीहरूका छोरा चन्दनकुमार राय, कान्छा देवर कामानन्द राय र उनकी श्रीमती रेणुदेवी रायले भने सफाइ पाएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७