भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा


२४ माघ २०७९, मंगलवार
u 20 woman football team

काठमाडौं । भारतविरुद्ध ३–१ को शानदार पुनरागमन जित निकाल्दै नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल गर्‍यो ।

खेलको २१औं मिनेटमा अपुर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । तर ४७ औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काइन् । कप्तान प्रिती राईले ६८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् । अग्रता बनाएपछि भारतमाथि हावी भएको नेपालका लागि अमिसा कार्कीले ८९औं मिनेटमा गोल गर्दै ३–१ को जित दिलाइन् ।

पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो । नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोड्यो । भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्न सक्यो । हारपछि भारत भने फाइनल होडबाट लगभग बाहिरिएको छ । भारतले फाइनल पुग्ने हो भने आजै हुने अर्को खेलमा भुटानले बंगलादेशलाई अनिवार्य पराजित गर्नुपर्नेछ ।

तर यसअघिका दुई खेल हार्दै बाहिरिसकेको भुटानले बंगलादेशलाई हराउनु निकै चुनौतीपूर्ण छ । नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७