बालिका अपहरण गरी बलात्कारपछि हत्या, अभियुक्तलाई जन्मकैदको फैसला


२४ माघ २०७९, मंगलवार
mahotari adalat

महोत्तरी । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको हो ।

महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मदन जयसवालका अनुसार अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा निज साहलाई आजीवन कारावासको सजाय सुनाएको हो ।

साथै पीडित परिवारलाई रू एक लाख क्षतिपूर्ति समेत दिनुपर्ने फैसला गरेको हो । विसं २०७७ मङ्सिर ७ गते आइतबारका दिन अरुणले छिमेकी सादिम आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनलाई अपहरण गरी बेपत्ता बनाएको र पछि जबर्जस्ती करणी गरी घटना बाहिरिने डरले घाँटी थिचेर हत्या गरी बोरामा राखेर फालिदिएको अवस्थामा उनको शव मंसिर ८ गते सोमबार राति सोही बस्तीमा फेला परेको थियो ।

पीडित परिवारलाई न्याय दिलाउन घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्थानीयले प्रशासनविरुद्ध आन्दोलन चर्काएपछि सो आन्दोलनको क्रममा बर्दिबास–१ बस्ने सञ्जय भन्ने बुद्धिराज न्यौपानेको प्रहरीको गोली लागि मृत्यु भएको थियो । सोही घटनाको महोत्तरी जिल्ला अदालतमा सोमबार भएको अन्तिम सुनुवाइ (पेसी) मा दोषी साहलाई अदालतले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७