युएसएआइडी प्रमुख सामन्था र परराष्ट्रमन्त्रीबीच भेटवार्ता, सहयोग बढाउने प्रतिवद्धता


२४ माघ २०७९, मंगलवार
KB KTM RE3A7328copy

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावरले आज (मंगलबार) अपरान्ह परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेटवार्ता गरेकी छिन् ।

परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा नेपाल अमेरिकाबीचको द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अन्र्तगत परियोजना कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरउन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतमा छलफल भएको थियो ।

त्यस अवसरमा परराष्ट्र मन्त्री पौड्यालले अ‍ेमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद दिइन् । पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिवद्धता जनाएकी थिइन् । पावर मंगलबार बिहान नेपाल आएकी हुन् । समान्था पावर सन् २०२१ को मे ३ तारिखयता युएसएआइडीकी प्रमुख छिन् । पावर सन् २०१३ देखि २०१७ सम्म अमेरिकाका तर्फबाट संयुक्त राष्ट्र संघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन् ।

उनी सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन्। उनी पूर्व पत्रकार समेत हुन् ।
नेपाल बसाईमा पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बिष्णु पौडेलसँग पनि भेट्ने कार्यक्रम छ । उनले आजै नागरिक समाजका केही प्रतिनिधीसंग पनि भेटवार्ता गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७