राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर : आधाभन्दा कम मात्रै काम


२४ माघ २०७९, मंगलवार
Kaligandaki karidor kawasoti scaled

काठमाडौँ । आयोजना सम्पन्न गर्ने लक्षित समय दुई वर्ष बाँकी हुँदा कालीगण्डकी करिडोर आधाभन्दा कम मात्रै सकिएकोे छ ।
राष्ट्रिय गौरवको सो सडक आयोजना भौगोलिक विकटता, वन क्षेत्रको प्रक्रियागत झन्झट, बजेट अपर्याप्तता, निर्माण व्यवसायीको ढिलाइलगायतका कारण अपेक्षाकृत प्रगति हुन नसकेको हो । आर्थिक वर्ष २०८१-८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएकोमा हालको गतिमा काम गर्दा सो अवधि नसकिने देखिएको योजना कार्यालय र आयोजना निर्देशनालयले जनाएका छन् ।

गैँडाकोटदेखि माथि राम्दीसम्मको खण्डमा वन क्षेत्रका कारण निर्माणाधीन भए पनि अरु खण्डमा सम्पन्न भइसकेको आयोजना प्रमुख श्यामबहादुर खड्काले बताए । सो खण्ड ऋण सहयोगमा सडक निर्माण भएको हो । वन क्षेत्रको समस्याका कारण अवरुद्ध सडक हालका लागि कम चौडाइमा कालोपत्र हुने र चौडाइ उपलब्ध भए पनि राजमार्गको स्तरमा निर्माण गरिने योजना रहेको छ । हाल सात मिटर चौडाइ पाइने हुँदा त्यतिमै अघि बढाइने गरी तयारी भइरहेको उनले बताए । उनले भने, ‘रुख कटानका लागि प्रक्रिया अघि बढिरहेको छ र त्यो सकिएपछि अरुतिर जतिकै चौडाइमा कालोपत्र गरिनेछ ।’

गैँडाकोटबाट राम्दीसम्म एक सय १६ किमी लम्बाइको खण्ड तल्लो क्षेत्रमा कालोपत्र भइसकेको र माथि २९ किमी मालढुङ्गाबाट जोमसोमसम्मको खण्डमा कालोपत्र भइसकेको आयोजनाले जनाएको छ । राम्दीबाट मालढुङ्गासम्मको खण्डमा सडक निर्माणका लागि सम्झौता भइसकेको र निर्माण कम्पनीले काम सुरु गरिसकेको आयोजना प्रमुख खड्काले बताए ।

मालढुङ्गा–बेनी र बेनी–जोमसोम खण्डमा कालोपत्र गर्न आवश्यक तयारी काम गरिरहेको उनले बताए । कागबेनीबाट कोरलासम्मको सडकखण्डमा ग्राभेलको काम भइसकेर कालोपत्र गर्न बाँकी छ । माथिल्लो क्षेत्रमा हिउँ परिरहने र गत वर्षहरुमा कोभिडका कारण चीनतर्फको सीमा वनद रहेकाले पनि थप काम हुनसकेको थिएन ।

कागबेनी–कोरला खण्डमा पानी नपर्ने हुँदा ग्राभलले पनि सडक राम्रो अवस्थामा रहेको उनले बताए । सवारी साधन सजिलै आवतजावत गरिरहेको भए पनि त्यस क्षेत्रमा कालोपत्रका लागि पनि तयारी भइरहेको छ । झण्डै ८० किमी लम्बाइको खण्डमा पहिले नै डिजाइन भइसकेकाले अब निर्माण अघि बढाउन लागिएको छ । उनले भने, ‘स्रोत सुनिश्चितता भएपछि कालोपत्रका लागि ठेक्का अघि बढाइनेछ ।’

जोमसोमबाट कागबेनीसम्मको खण्डमा सबै ठेक्का भइसकेको र निर्माण कम्पनीले सरासर काम गरेमा अबको एक डेढ वर्षमा सकिने प्रमुख खड्काले बताए । कागबेनीबाट माथि चालु आवमा ठेक्का लगाइसकियो भने अबको दुई साढे दुई वर्षमा निर्माण सकिने देखिएको उनले बताए ।

सडक निर्माणमा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई सचेत गराएर काम भइरहेको आयोजना प्रमुख खड्काले बताए । कालीगण्डकी करिडोरको जोमसोम खण्डमा निर्माण कम्पनीले बीचमा निर्माण रोकेको भए पनि अहिले पत्राचार गरेपछि गति बढाएको उनले बताए । सुरुआतमा काममा ढिलाइ भए पनि समय समयमा झकझकाएर पत्रिकामा सूचना निकाल्ने गरेपछि अहिले गति बढेको उनले बताए ।

कालीगण्डकी करिडोरको विभिन्न खण्डमा बर्सेनि वर्षाको समयमा पहिरोका कारण सडक क्षतिग्रस्त हुने गरेको छ । काभ्रेभिर र रुप्से झरना खण्डमा वर्षाको समयमा बढी क्षति हुने गरेको आयोजनाले जनाएको छ । राष्ट्रिय गौरबका तीन करिडोर एकसाथ अघि बढाइरहँदा अरु दुई करिडोरभन्दा कालीगण्डकी करिडोरमा प्रगति बढी रहेको छ । कोसी करिडोर र कणार्ली दुवैमा ट्याक खोल्न बाँकी रहेकामा यो करिडोरमा केही वर्ष पहिले नै सबै ट्याक खुलिसकेको छ । सडक कालोपत्रको हिसाबले पनि कालीगण्डकी अरुभन्दा अघि रहेको छ । कोसी करिडोरका केही खण्डमा कालोपत्र सुरु भए पनि कर्णाली करिडोरमा अझै कालोपत्र सुरु भइसकेको छैन ।

चालु आवमा जम्मा ४९ किमी सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा अहिलेसम्म १० किमी सकिएको गैँडाकोट मालढुङ्गा सडक योजनाले जनाएको छ । कालोपत्र गर्ने सिजन सुरु भएकाले चालु आवमा लक्ष्यअनुसार गर्न सकिने योजना प्रमुख शङ्कर पौडेलले बताए ।

आयोजना नै सम्पन्न गर्न दुई आव बाँकी रहेकामा त्यतिमा नसकिने अवस्था रहेको प्रमुख पौडेलले बताए । अझै पनि ३० किमी सडकमा कालोपत्रका लागि ठेक्का व्यवस्थापन गर्न बाँकी रहेको छ । गैँडाकोटबाट राम्दीसम्मको खण्डमा पहिरोको समस्या रहेको प्रमुख पौडेलले बताए । गैँडाकोट क्षेत्रमा वन काटेर सडक निर्माण गर्नुपर्नेछ । उनले भने, ‘यो खण्डमा झण्डै १५ किमी कालोपत्र बाँकी रहेको छ ।’

कालीगण्डकी करिडोरको किनारैकिनार निर्माण भएको करिडोर नवलपुरको गैँडाकोटबाट सुरु भएर अन्तिम मुस्ताङको कोरलासम्म रहेको छ । करिडोरले जम्मा समेट्ने आठ जिल्लामा नवलपुर, पाल्पा, गुल्मी, पर्वत, स्याङ्जा, म्याग्दी र मुस्ताङ रहेको छ । करिडोरले गण्डकी र लुम्बिनी गरी दुई प्रदेश समेटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७