महुरे–राजापानी सडक कालोपत्र : अलपत्र छाडेर उपकरणसहित हिँड्यो ठेकेदार


२५ माघ २०७९, बुधबार
mahure sadak

खोटाङ । सगरमाथा राजमार्गअन्तर्गत खोटाङको महुरे–राजापानी सडक कालोपत्रको ठेक्का लिएको ठेकेदार कम्पनी निर्माणस्थलमा प्रयोग गरिएका उपकरण उठाएर हिँडेको छ ।

दिक्तेल–गाईघाट सडकखण्डको (२२ किलोमिटर) महुरे–राजापानी सडकखण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीका ठेकेदार निर्माणस्थलमा प्रयोग गरिएका गाडी, क्रसर मेसिनलगायत आवश्यक उपकरणसहित निर्माणाधीन सडक अलपत्र छाडेर हिँडेको हो ।

काम सुरु गरेको लामो समयसम्म अलपत्र बनेको सडकमा केही समयअघि आएको निर्माण व्यवसायी काम गर्दागर्दै छाडेर हिँडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताए । ‘पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको थियो’, उनले भने, ‘निर्माणाधीन सडक अलपत्र छाडेर उपकरण उठाउन थालेपछि सम्बन्धित निकायमा खबर गर्‍यौँ । जिल्ला प्रशासन कार्यालय खोटाङले समेत कुनै चासो नदिएपछि निर्माण कम्पनीले माघ ४ गते क्रसरको सामानसमेत उठाएर हिँड्यो ।’

निर्माण कम्पनी भुक्तानी लिएपछि निर्माणस्थलबाट सामान उठाएर काम छाडेर हिँडेको स्थानीय बासिन्दाको आरोप छ । निर्माण व्यवसायीले भाडामा ल्याएका सवारी साधन र क्रसर मेसिन भने सम्बन्धित मालिक आएर लगेका हुन् ।

भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा विसं २०७३ असार ३० गते योजनाको सम्झौता गरेको थियो । करिब ५० प्रतिशत मात्र भौतिक प्रगति देखिएको महुरे–राजापानी सडक कालोपत्रको ठेक्का रु ४१ करोड ५० लाखको लागतमा लिएको हो ।

काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साइड इञ्चार्ज परिवर्तन गर्दै स्थानीय बासिन्दालाई छल्ने काम गरेको वडाध्यक्ष राईले बताएका छन् । निर्माण कम्पनीले हालसम्म १४ जना साइड इञ्चार्ज (निर्माणस्थलमा खटिने कम्पनीका प्रमुख) परिवर्तन गरिसकेको स्थानीय बासिन्दाले बताएका छन् । यसबीचमा खोटाङमा छ जना प्रमुख जिल्ला अधिकारी फेरिइसकेका छन् । कालोपत्रको काममा भइरहेको ढिलासुस्तीका विषयमा माघ २१ गते जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।

भारत कन्ट्रक्सन÷सिद्धी शाहीका प्रतिनिधि सन्तोष ढकालले केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासमक्ष मङ्सिर–१६ गतेदेखि पुस–१३ गतेसम्मको कार्यविवरण पेश गरेका थिए । जेभीले मंसिर १६ गतेदेखि हप्ता दिनसम्म सव–बेस मर्मत गर्ने, मंसिर २३ गतेदेखि १० दिनसम्म बेस क्रसर उत्पादन गरी बेस बोक्ने, पुस ३ गतेदेखि १० दिनसम्म बेस फिँजाउने र पुस १३ गतेदेखि ४ किलोमिटरमा डिबीएसटी (पिच) को काम सुरु गर्ने कार्यविवरण पेश गरेका थिए ।

महुरे–राजापानी सडक कालोपत्रको ठेक्का लिने सिद्धी शाही जेभीका सञ्चालक दीपेन्द्र शाही नेपाली कांग्रेस डोल्पाका सभापति हुन्घ । शाहीले जिम्मा लिएका जिल्लाका अन्य आयोजनाको काम समेत अलपत्र अवस्थामा रहेका छन् ।

उता, सोही सडकखण्डको राजापानी–फोक्सिङटार र फोक्सिङटार–अँधेरीखोला सडकखण्ड पनि ठेकेदारको लापरबाहीका कारण अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीले कालोपत्रको काम नगरेपछि गाईघाट दिक्तेल सडक आयोजना कार्यालय उदयपुरले गत पुस ८ गते ठेक्का तोड्न सिफारिस गरेको थियो ।

खोटाङ र उदयपुर जोड्ने दिक्तेल–गाईघाट (एक सय एक किलोमिटर) लामो सडकखण्डको दुई प्याकेज कालोपत्रको ठेक्का तोड्ने निर्णय उल्टिएको छ । उच्च अदालत पाटनले सगरमाथा राजमार्ग अन्तरगत खोटाङको फोक्सिङटार–सिम्पानी (राजापानी) र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्ड डिबीएसटी कालोपत्र योजनाको ठेक्का तोड्ने गाईघाट दिक्तेल सडक आयोजना कार्यालय उदयपुरको निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

ठेकेदार कम्पनीले सम्झौताअनुसारको काम नगर्दा सडक कालोत्रको काम वर्षौँसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले गत पुस ८ गते फोक्सिङटार–सिम्पानी (राजापानी) र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो ।

ठेक्का तोड्ने निर्णयविरुद्ध ठेकेदार कम्पनी अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रको नियमित काम गर्न दिन र समय–समयमा कामको प्रगतिबारे अनुगमन गर्न अन्तरिम आदेश दिएको हो ।

ठेक्का तोड्ने निर्णय भएपछि ठेकेदार रिट हाल्न उच्च अदालत पुगेको थियो । ठेक्का तोड्ने निर्णयलाई अदालतले अन्तरिम आदेशमार्फत उल्टाइदिएपछि निर्माण कम्पनी देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभी काठमाडौँले फोक्सिङटार–सिम्पानी (राजापानी) सडकखण्डमा काम पुनः सुरु गरेको जनाइएको छ ।

अदालतको अन्तरिम आदेशमा ठेक्का कायम राख्न सफल निर्माण व्यवसायीले बाँकी काम सरासर गर्नेमा विश्वस्त हुने ठाउँ भने नभएको खोटाङ क्षेत्र नं १ बाट निर्वाचत प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ ले बताए । ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्यसम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले दुई खण्डको ठेक्का तोडेको सूचना जारी गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ फागुन १४ गते शिलान्यास गरेको दिक्तेल–गाईघाट सडक पूर्वी तराई जोड्ने सबैभन्दा छोटो मार्गमा पर्दछ । निर्माण सुरु गरिएको २८ वर्षसम्म कालोपत्र नभएको यस सडकखण्ड हिउँदमा धुलो र वर्षामा हिलोका कारण अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७