टर्की–सिरियामा भूकम्प : मृत्तकको संख्या सात हजार नाघ्यो, उद्धार कार्य जारी (अपडेट)

ज्यान गुमाउनेको संख्या २० हजार पुग्न सक्ने अनुमान


२५ माघ २०७९, बुधबार
Turky earthquake 5

काठमाडौं । सिरियाको सीमा नजिकै टर्कीमा अस्ती सोमबार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या सात हजार नाघेको छ ।

अहिलेसम्म टर्कीमा पाँच हजार ८९४ जना र सिरियामा एक हजार ९३२ जना गरी सात हजार ८२६ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ । दुवै देशमा गरी २० हजार भन्दा धेरै मानिस घाइते भएको विवरण प्राप्त भएको र अस्पतालमा रहेका घाइतेहरुको विवरण सङ्कलन भइरहेको उद्धारमा संलग्न अधिकारीहरुले जनाएका छन् ।

4 2

दुवै देशमा गरेर हजारौं साना घर र ७ हजार वटा ठूला भवन भत्किएका खबरमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले भूकम्पका ज्यान गुमाउनेको संख्या २० हजार नाघ्न सक्ने र दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको बताएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन् । मान्छे खोज्ने कुकुर र विशेष उपकरणसहित पुगेका उनीहरुले उद्दारको काम गर्नेछन । अमेरिका, बेलायत, चीन, रुस, भारत, पाकिस्तान, जापान, इराक, इरान, अष्ट्रेलिया, न्युजिल्याण्ड, ग्रिस लगायतका देशबाट अत्यावश्यक राहतका सामग्री टर्की र सिरियामा पुगेका छन् ।

अत्याधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्दार र राहत वितरणमा कठिनाइ भइरहेको खबरमा उल्लेख छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् । टर्की र सिरियाको सीमानामा सोमवार विहान ७ दशमलव ८ र दिउँसो ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । कैयौं परकम्पहरु पनि गइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७