पशुको बाँझोपन परीक्षण गर्न एक्स–रे सेवा


२५ माघ २०७९, बुधबार
Buffalow
फाइल फोटो

गुल्मी । गुल्मीमा भिडियो एक्स–रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो ।

कार्यालयका प्राविधिकले किसानको गोठगोठमै पुगेर सेवा सुरु गरेपछि यहाँका पशुपालक किसान खुसी भएका छन् । बाँझोपनको पहिचान र उपचार नहुँदा लामो समयसम्म किसानले गोठमा त्यत्तिकै थारो पशुचौपाया पाल्नुपर्ने बाध्यता थियो ।

कार्यालयले एक्स–रे ल्याएसँगै इस्मा गाउँपालिका–६ का कृषक कृष्ण घिमिरेले केन्द्रले नयाँ सेवा प्रवाहसँगै उपचारमा नयाँ प्रविधि भित्रिएकामा खुसी व्यक्त गरे । घिमिरेले आफूले पनि त्यसै प्रविधिमार्फत आफ्ना गाईको बाँझोपनाको समस्या पहिचान गर्न सजिलो भएको बताए । उनले अन्य किसानहरुलाई पनि नयाँ प्रविधिको प्रयोग गर्न सुझाव दिएका छन् ।

विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले लुम्बिनी प्रदेशमै यो उदाहरणीय काम भएको बताए । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले विज्ञ केन्द्रलाई भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको हो ।

बाँझोपनका कारण किसानहरुले त्यसको उपचारमा विकल्प नहुँदा पशुहरुको गर्भ पहिचान गर्न अहिलेसम्म हातैले छामेर गर्नुपर्ने बाध्यता थियो । कार्यालयमा एक्स–रे मेसिन आएसँगै बाँझोपन निवारणका लागि पालिकाका प्राविधिकमार्फत तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । जिल्लामा गत सातादेखि भिडियो एक्स–रे सेवा सुरु भएको हो । कार्यालयले यो सेवा जिल्लाका सबै पालिकाहरुमा पुर्‍याउने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७