मधेश प्रदेशमा प्रहरी मुख्यालयबाटै घुमुवा परिचालन : जिल्लाका एसपीभन्दा सई शक्तिशाली


२६ माघ २०७९, बिहीबार
Nepal police
तस्बिर : होविन्द्र बोगटी, बिदुर शिवाकोटी, सागर राणा र विनोद सिंह

काठमाडौं : मुलुकको सबै आर्थिक सूचकाङ्कहरुले खतराको घन्टी बजाइरहेको छ । यही कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले राजस्व चुहावट नियन्त्रणमा कडाई गर्न पटक–पटक निर्देशन दिइरहेका छन् । तर प्रधानमन्त्री र अर्थमन्त्रीको निर्देशनलाई वेवास्ता गर्दै मुलुकको राजस्व संकलनको प्रमुख केन्द्र जस्तै मानिने मधेश प्रदेशमा सरकारी संयन्त्रकै मिलेमतोमा तस्करी र भन्सार छली भइरहेको छ ।

भारतसँग सीमा जोडिएको पर्सापछि बाराबाट पनि सामान नेपालमा आयात हुने गर्दछ । भारतबाट बैधानिक रुपमा भन्दा पनि भन्सारछली गरी सामान बढी भित्रिंदा भन्सार राजस्व असुलीमा असर पर्ने गरेको छ । यसरी भन्सारछली तस्करी हुने पर्सा र बारामा नेपाल प्रहरीदेखि सशस्त्र प्रहरीका अधिकृतदेखि जुनियर अधिकृत र तल्लो तहसम्मका सरुवा हुनका लागि चलखेल हुने गर्दछ ।

नेपाल प्रहरीका आइजीपी धिरजप्रताप सिंहले आफ्ना विश्वासपात्र सई र इन्स्पेक्टरलाई पर्सा र बारामा परिचालन गरेका छन् । मुख्यालयले खटाएका सई र इन्स्पेक्टरले जिल्लाका एसपीलाई समेत बाइपास गरी तस्करहरुसँग असुली गर्ने गरेको आरोप छ । प्रहरी मुख्यालयले पर्सामा वरिष्ठ सई विनोद सिंह र बारामा सागर राणालाई परिचालन गरेकाे छ। उनीहरुमार्फत तस्करहरुसँग सेटिङ गर्ने गरेको उजुरी र सूचना गृह मन्त्रालय र अर्थमन्त्रालयसम्म आइपुगेको अधिकारीहरुको भनाई छ ।

बरिष्ठ सईको नेतृत्वमा केन्द्रबाटै हस्तक्षेप गरी राखिएका बाराका बरिष्ठ सई सागर राणाका अगाडि एसपी होविन्द्र बोगटी नै गरुडका अगाडि परेका सर्पजस्तै हुने गरेका एक प्रहरी अधिकृतले बताए । एसपी बोगटीले पदबहाली गरेलगत्तै इन्स्पेक्टर र डीएसपी प्रमुख हुने इलाका प्रहरी कार्यालयहरुलाई परिपत्र गरी बैंकिङ कसुर र लेनदेनका मुद्दा हेर्न नपाउने, जिल्लामा पठाउनुपर्ने निर्देशन दिएको एक अधिकृतले बताए ।

जिल्लामा बैंकिङ कसुर र लेनदेनका मुद्दा हेर्ने जिम्मा पनि तिनै बरिष्ठ सई राणालाई नै दिइएको एक अधिकृतले जानकारी दिए । आइजीपीको आशीर्वाद प्राप्त भएकाले राणालाई एसपी बोगटीले चेक बाउन्सदेखि लेनदेनका मुद्दा हेर्न जिम्मा दिएको ती अधिकारीको दाबी छ । मुख्यालयबाटै संरक्षित शक्तिशाली सई राणाले चेक बाउन्स र लेनदेनमा उजुरीमा मोलतोल गर्ने छुट पाएको उनको दाबी छ ।

त्यसैगरी, पर्सामा विनोद सिंहलाई परिचालन गरिएको छ । स्रोतका अनुसार प्रहरी मुख्यालयबाटै आइजीपीको संरक्षण पाएकाले पर्साका यसअघिका एसपी रमेश बस्नेत हुँदै हालका कोमलविक्रम शाहले समेत उनका गतिबिधिमाथि निगरानी समेत गर्न नसक्ने एक अधिकृतकाे दाबी छ ।

पर्सामा परिचालित घुमुवा बरिष्ठ सई विनोद सिंहको बारेमा धेरै गुनासो आएपछि यसअघिका पर्साका एसपी रमेश बस्नेतले एक्सन लिन खोज्दा माथिबाट हप्की खाएपछि उनी हच्किएका बताइन्छ । पर्साको एसपी हुँदै मधेश प्रदेशमा डीआइजी भएका आइजीपी सिंहलाई तस्करीदेखि सबै बिषयको यथेष्ट जानकारी भएकाले पनि उनले मुख्यालयबाट सोझै नखटाई त्यहाँका रैथाने बरिष्ठ सई राणा र सिंहलाई परिचालन गरेका छन् ।

बरिष्ठ सई सागर राणा असईमा जागिर खाएदेखि बारा र पर्सामै अड्डा जमाएर बसेका छन् । जतिसुकै अनियमितताका गुनासा आए पनि माथिसम्म पहुँच भएका उनी ती दुई जिल्लाबाट अन्यत्र सरुवा हुनुपरेको छैन । उनी बाराका आकर्षक मानिने अमलेखगञ्ज, जीतपुर, मुसर्वा चौकी, इप्रकामा इन्चार्ज भइसकेका छन् । बारामा आर्थिक लेनदेन, चेक बाउन्स, तस्करी सेटिङमा राणाकै बोलवाला रहेको एक अधिकारीले बताए ।

प्रहरीको उच्च तहमा पहुँच भएका उनलाई जिल्लाका एसपीले केही गर्न सक्दैनन् । राणा हालका आइजीपी सिंह पर्साको एसपी हुँदा पनि सादा पोशाकमा घुमुवाका रुपमा तस्करीदेखि लेनदेनका केसमा संलग्न थिए । सर्बेन्द्र खनाल तत्कालीन नारायणी अञ्चलको एसएसपी हुँदा पनि घुमुवा बसेका थिए । बीचमा संखुवासभा सरुवा भए पनि उनी गएनन् । उनले अकूत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगमा उजुरी पनि परेको छ ।

सबैभन्दा बढी नाकाबन्दीको पालामा राजबाबु श्रेष्ठ हुँदा राति राति तस्करी गराएर अकूत लाभ लिएको आरोप राणामाथि लाग्ने गरेको थियो । राणाले बालकृष्ण पोखरेलको ट्रान्सपोर्ट कम्पनीलाई तस्करीमा सघाउने गरेको आरोप समेत छ । त्यसैगरी, आइजीपी सिंहले पर्साको अर्को आकर्षक मानिने वडा प्रहरी कार्यालय बिर्ताको इन्चार्जमा अर्का विश्वासपात्र इन्स्पेक्टर

विदुर शिवाकोटीलाई पठाएका छन् । शिवाकोटीलाई यसअघि सोमेन्द्रसिंह राठौर पर्साको एसपी हुँदा धिरजप्रताप सिंहले नै सरुवा गरेका थिए । सोमेन्द्रले उनलाई घुमुवा राखी तस्करीको लाइन सुचारु गरी रकम असुली गरेको आरोप लागेको थियो । पर्सामा घुमुवा बसेर तस्करीको संजाल थाहा पाएका शिवाकोटीलाई बीरगंज भन्सारसँगै रहेको बिर्ता वडा प्रहरी कार्यालयमा पठाउनुका पछाडि पनि कलेक्सन नै रहेको अधिकारीहरुको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७