सहकारीद्वारा वृद्धवृद्धालाई भत्ता वितरण


२६ माघ २०७९, बिहीबार
money 4
फाइल फोटो

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित लर्ड बुद्ध सहकारी ७० वर्ष उमेर नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता वितरण गरेको छ । सहकारीले आफ्नो २१औं स्थापना दिवसमा २९ वृद्धवृद्धालाई भत्ता वितरण गरेको हो । सहकारीमा आबद्ध वृद्धवृद्धालाई दुई वर्षदेखि भत्ता वितरण गर्न थालेको हो । बुधबार उनीहरुलाई नगर प्रमुख मोहनप्रसाद तुम्बापोले भत्ता वितरण गरेका हुन् ।

सहकारीले जन्मदिन मनाउने, तीर्थाटन गराउने र बुढेसकालको सहारा लौरो उपहार दिने जस्ता काम गर्दै आएको छ । उमेरभरि सहकारीमा पैसा जम्मा गरेर सहयोग गर्नुभएका वृद्धवृद्धालाई सहकारीले सम्मान गरेको सचिव महेन्द्र ढुङ्गानाले बताए । सहकारीले ७० वर्ष नाघेका वृद्धवृद्धालाई प्रत्येक तीन-तीन महिनामा रु तीन हजारका दरले भत्ता वितरण गर्दै आएको छ ।

वार्षिकोत्सवका अवसरमा पत्रकार भूमि पाठकलाई नगद रु पाँच हजार एकसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक कर्णबहादुर राई र सहकारीमा आबद्ध एकल महिलालाई पनि सम्मान गरिएको थियो । यस्तै सहकारीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताका विजयी छात्र–छात्रालाई पुरस्कृत गरिएको थियो ।

‘वर्तमान आर्थिक सङ्कट व्यवस्थापनमा सहकारीको भूमिका’ विषयक वक्तृत्वकलामा नगरका १५ विद्यालय सहभागी थिए । चन्द्रकिराँतेश्वर माविकी छात्रा निवा चेम्जोङ प्रथम, न्यू प्यागोडा अङ्ग्रेजी माविका भविन्द्र अधिकारी द्वितीय, रेडस्टार आवासीय माविकी मोनिका आचार्य तृतीय तथा मोरङ मेरिगोल्ड अङ्ग्रेजी माविका समीर कार्की र पञ्चायत माविकी गङ्गा भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७