सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना न्यून बन्दै

नागरिक उन्मुक्ति पार्टीका सबै सांसद काठमाडौंमा


२६ माघ २०७९, बिहीबार
sudur mukhyamantri 2

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउने सम्भावना न्यून बन्दै गएको छ । उनले प्रदेशसभाबाट विश्वासको मत लिने आज अन्तिम दिन हो ।

गएको पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले विश्वासको मत नदिने निर्णय गरेपछि बुधबार तोकिएको प्रदेशसभा बैठक स्थगित गरी आजका लागि बोलाइएको हो ।

सो पार्टीका नेताहरूसँग नेकपा (एमाले) का नेताहरू निरन्तर छलफलमा छन् । अहिले नागरिक उन्मुक्तिका सबै प्रदेशसभा सदस्य काठमाडौंमै छन् । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीलगायत नेताहरूलाई रिहा नगरेसम्म रावललाई विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडान छ । रावल मुख्यमन्त्रीमा नियुक्त हुँदा नाउपाले समर्थन गरेको थियो ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । अहिलेको अवस्थामा कुनै परिवर्तन नआए रावलले विश्वासको मत नपाउने निश्चित छ । त्यो अवस्थामा सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, एमालेका १०, नाउपाका सात, नेकपा (एकीकृत समाजवादी) का पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७