सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजेका लागि सारियो

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक तीन घण्टा पछि सारिएको छ । आज (बिहीबार) दिउँसो १ बजे तय भएको बैठक ३ घण्टापछिका लागि सारिएको हो ।
आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ । प्रदेश सभा बैठक ४ बजेसम्मका लागि सरेको संसद सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले जानकारी दिएका छन् । सत्ता साझेदार नागरिक उन्मुक्तिका ७ सांसद विश्वासको मत नदिने अडान लिएर संघीय राजधानी काठमाडौँमा छन् ।
उनीहरुको समर्थन विना विश्वासको मत नपाउने भएपछि बैठक सारिएको हो । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतका लागि रेशम चौधरीलगायतका बन्दीहरुलाई छाड्नु पर्ने शर्त राखेको छ । नाउपा अध्यक्ष रञ्जिता चौधरीले आफूहरुका माग पूरा नभएसम्म विश्वासको मत नदिने स्पष्ट पारिसकेकी छन् ।